काठमाण्डौ । बैंकहरुले कात्तिक १ गतेबाट औपचारिका रूपमा कार्यान्वयन हुने स्थिर ब्याजदर सार्वजनिक गरेका छन्। 

करिब एक महिनाअघि नेपाल राष्ट्र बैंकले एक वर्षमाथिका व्यक्तिगत आवधिक ऋणको स्थिर (फिक्स) ब्याजदर कायम गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको थियो। सोही निर्देशनबमोजिम कात्तिक १ गतेबाट स्थिर ब्याजदर लागू हुन लागेको हो। 

यही निर्देशन कार्यान्वयन ल्यान शुक्रबार एक दर्जनजति बैंकहरुले स्थिर ब्याजदर सार्वजनिक गरेका छन्। कतिपय बैंकहरुले भने यसअघि नै स्थिर ब्याजदर कार्यान्वयन गरिसकेका छन्। 

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले १५ वर्षसम्मको घर कर्जा ११ प्रतिशत र सात वर्षसम्मको गाडी कर्जा ९.५ प्रतिशत स्थिर ब्याजदरमा उपलब्ध गराउने भएको छ। 

यसैगरी नेपाल बैंकले ९.३५ देखि १३.९३ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ। बैंकले घर कर्जा कम्तीमा ९.८५ प्रतिशत र सवारीसाधन कर्जा १०.८५ प्रतिशत ब्याज निर्धारण गरेको छ। 

माछापुच्छ्रे बैंकले १० वर्षमाथिको घर कर्जाको ब्याज ११.८९ प्रतिशत निर्धारण गरेको छ। त्यस्तै १० वर्ष अवधिको सवारी–साधन कर्जा १०.९९ प्रतिशतमा दिने घोषणा गरेको छ। अन्य खालको खुद्रा ऋणको ब्याज दर १२.२४ प्रतिशतसम्म निर्धारण गरेको छ। बैंकले ५ वर्षसम्मको घर कर्जा ९.८९ प्रतिशत र सवारीसाधन ९.९९ प्रतिशत ब्याजमै उपलब्ध गराउने भएको छ। 

ग्लोबल आइएमई बैंकले ७.९९ देखि १३.९९ प्रतिशतसम्म ब्याज दर निर्धारण गरेको छ। बैंकले १५ वर्षमाथिको घर कर्जाको ब्याज ११.९९ प्रतिशत र ५ वर्षमाथिको गाडी कर्जाको ब्याज ११.९९ प्रतिशत तोकेको छ। 

सनराइज बैंकले समयावधिअनुसार ब्याज दर साढे १० प्रतिशतदेखि साढे १३ प्रतिशतसम्म निर्धारण गरेको छ। बैंकले १५ वर्षसम्मको घर कर्जाको ब्याज साढे ११ प्रतिशत निर्धारण गरेको छ। त्यस्तै ८ वर्षसम्मको सवारी कर्जा लिए ब्याज साढे ११ प्रतिशत बैंकलाई तिर्नुपर्छ।

बैंक अफ काठमाण्डूले ९.४९ देखि १२.९८ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ। ५ वर्षसम्मको शिक्षा ऋण लिनु परे साढे ९ प्रतिशत पर्छ। १५ वर्षसम्मको हाउजिङ ऋण लिनु परे ११.९८ प्रतिशत छ। सवारी कर्जा लिनुपरे साढे ११ प्रतिशतसम्म ब्याज पर्छ। 

नबिल बैंकले एक वर्षसम्मको स्पेसल अफरबाहेक त्योभन्दा माथि अवधिको ब्याज दर निर्धारण गरेको छ। बैंकले १५ वर्षसम्को घर कर्जा ११ प्रतिशतमा दिनेछ। 

नेपाल इन्भेष्टमेन्ट बैंकले ७.९९ प्रतिशतदेखि १३ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ। बैंकले सात वर्ष अवधिको सवारीसाधन किन्न १०.७५ प्रतिशत ब्याजमा पैसा दिन्छ। घर कर्जा समयानुसार फरक छ। जस्तो १० वर्षसम्मको घरु कर्जाको ब्याज साढे १२ प्रतिशत पर्छ।

एनएमबि बैंकले ५, १०, १५ र त्यसभन्दा माथिका लागि ब्याज निर्धारण गरेको छ। बैंकले समयावधि हेरेर ९.४९ प्रतिशतदेखि १३.९९ प्रतिशतसम्म ब्याज लिनेछ। बैंकले आफ्नो मुख्य ग्राहक, आफ्नो स्ट्यान्डर्ड रेट र अन्य रेट भनेर तीन खालको ब्याज सार्वजनिक गरेको छ। बैंकसँग १५ वर्षसम्मको घर कर्जा लिने हो भने सवा १२ प्रतिशतसम्म ब्याजमा पैसा पाइन्छ। यदि तीन वर्षभन्दा माथिका लागि सवारी कर्जा लिने हो भने ब्याज १० प्रतिशत हाराहारीमै पाइन्छ। विद्युतीय कार किन्नुपर्दा त साढे ९ प्रतिशतमै पाइन्छ।

नेपाल एसबीआई बैंकको स्थिर ब्याज ५ देखि १० वर्ष अवधिको साढे १४ प्रतिशत पर्छ। १० वर्षसम्मको सवारी कर्जा लिँदा ब्याज १४ प्रतिशत पर्छ। 

सानिमा बैंकले ८.२५ प्रतिशतदेखि १३ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ। ३ वर्षमाथिको ऋणको ब्याज १३ प्रतिशत पर्छ। 

कृषि विकास बैंकले सवारी कर्जा १०.५ प्रतिशत र१० वर्षमाथिको घर कर्जाको ब्याज ११.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ।

सिद्धार्थ बैंकले ५ वर्षमाथिको सवारी कर्जा १०.९९ प्रतिशतमा र १० वर्षमाथिको घर कर्जाको ब्याज १०.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। 

सेञ्चुरी बैंकले १० बर्षमाथिको घर कर्जा १२.७४ प्रतिशत ब्याज निर्धारण गरेको छ। सात वर्षसम्मको निजी सवारीसाधन ऋण १२.२४ प्रतिशतमै उपलब्ध गराइने बैंकले जनाएको छ।