काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले दशैं र तिहारका सार्वजनिक विदाबाहेक अन्य विदा लगातार २ दिनभन्दा बढी दिन नपाउने भएका छन् । 

नेपाल राष्ट्रबैंकले विदा सम्बन्धी सूचना सार्वजनिक गर्दै यस्तो व्यवस्था कार्यान्वयनमा ल्याइएको जानकारी दिएको हो । 

वि.सं. २०७९ सालका लागि निर्धारण गरिएको दशैं र तिहारका सार्वजनिक विदाबाहेक अन्य विदा लगातार दुई दिनभन्दा बढी भएमा तेश्रो दिनदेखि बैंकिङ विभाग र मुद्रा व्यवस्थापन विभाग(टक्सार महाशाखा समेत)बाट प्रवाह हुने सेवा, भुक्तानी प्रणालीबाट प्रवाह हुने आरटिजिएस सेवा, मौद्रिक व्यवस्थापन विभागबाट प्रवाह हुने सेवा लगायतका अन्य अत्यावश्यक सेवाहरु तथा प्रदेशस्थित कार्यालयको अत्यावश्यक बैंकिङ सेवालाई नियमित गर्न सीमित संख्यामा कर्मचारी खटाई निर्धारित कार्यालय समयसम्म कार्यालय सञ्चालन गर्नुपर्ने निर्देशन जारी भएको हो । 

केन्द्रीय बैंकले मात्र नभई बैंक तथा वित्तीय संस्थाहरुले पनि आफ्ना अत्यावश्यक सेवा सोहीअनुसार २ दिनभन्दा बढी विदा भएमा तेश्रो दिनदेखि सञ्चालन गर्नुपर्नेछ । 

केन्द्रीय बैंकको विदा सम्बन्धी सूचना आउनुअघि सरकारले गृहमन्त्रालयले राजपत्रमा एक सूचना प्रकाशित गरी लगातार दुई दिनभन्दा बढी सार्वजनिक विदा भएमा तेश्रो दिनदेखि स्वास्थ्य संस्था, रोपवे, टेलिफोन, प्रहरी, विद्युत, खानेपानी, बैंकिङ सेवा, राजस्व, मालपोत, नापी, भन्सार, स्थानीय तहलगायतले मन्त्रालयले समय निर्धारण गरेअनुसार सेवा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको थियो । नयाँ व्यवस्थाअनुसार सार्वजनिक विदाको दिन सेवा प्रदान गर्ने कर्मचारीलाई सट्टा बिदा दिने गरी सम्बन्धित निकायले कर्मचारीको व्यवस्थापन गर्नुपर्नेछ । 

यसैबीच, केन्द्रीय बैंकले समेत सरकारको निर्देशनअनुसार बैंकिङ कारोबार समयमा पनि हेरफेर गरेको छ । अब सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान ९.३० बजेदेखि अपरान्ह ५.३० बजेसम्म निर्धारण गरिएको छ। आगामी कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९.३० बजेदेखि अपरान्ह ४.३० बजेसम्म रहनेछ।

शुक्रबारका लागि पनि बैंकको निर्धारित कार्यालय पोशाक कायम गर्नुपर्ने समेत केन्द्रीय बैंकको सूचनामा उल्लेख छ । 

विभाग, कार्यालय महाशाखा इकाईले प्रत्यक्ष सेवाग्राहीले एकैदिनमा सम्पन्न हुने एकै सेवाका लागि थप अर्को साता कार्यालय आउनुपर्ने अवस्था सिर्जना हुन नदिने सुनिश्चितता गरी कार्य व्यवस्थापन गर्नुपर्ने समेत निर्देशनमा उल्लेख छ । 

हप्ताको दुई दिन विदा हुँदा हत्ताभरि सम्पन्न गरिएका कार्यहरुको सूची दैनिकी तथा सेवा प्रवाहको संख्या अध्ययन तथा मूल्याङ्कन लागि अभिलेख गरी राख्न समेत भनिएको छ ।