काठमाण्डौ । भदौ महिनाका लागि आज अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर सार्वजनिक गरेका छन्। 

अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपतर्फ संस्थागतको ब्याजदर घटाएर अन्य यथावत् राखेका छन्। ब्याजदर बढाउँदै निक्षेप नबढ्ने र लागत खर्च बढ्ने भन्दै बैंक तथा वित्तीय संस्थाहरुले साउनकै निक्षेपको ब्याजदरलाई भदौमा निरन्तरता दिएका छन्। 

चालु आर्थिक वर्षको मौद्रिक नीतिपछि पहिलो निर्देशन जारी गर्दै राष्ट्र बैंकले व्यक्तिगत र संस्थागत निक्षेपको ब्याजदरमा २ प्रतिशतको अन्तर कायम गर्नुपर्ने व्यवस्था गरेको छ। 

सोही व्यवस्थालाई कार्यान्वयन गर्दै अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत निक्षेपको ब्याजदरलाई स्थिर राख्दै संस्थागत निक्षेपको ब्याजदर १ प्रतिशतले घटाएका छन्।

उता स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने अधिकांश वाणिज्य बैंकहरुमध्ये निक्षेपमा थप १ प्रतिशत ब्याजदर घटाएको छ। यो बैंकले ९१ दिने मुद्दति निक्षेपमा व्यक्तिगततर्फ १०.०३ र संस्थागततर्फ ८.०३ प्रतिशत कायम गरेको छ। 

त्यस्तै स्ट्यान्डर्ड चार्टर्डले १२१ दिनेदेखि ३६४ दिने मुद्दति निक्षेपमा भने व्यक्तिगततर्फ ११.०३ प्रतिशत र संस्थागततर्फ ९.०३ प्रतिशत ब्याज दिने भएको छ। त्यस्तै १ वर्षभन्दा माथि निक्षेपमा पनि बैंकले व्यक्तिगततर्फ ११.०३ प्रतिशत र संस्थागततर्फ ९.०३ प्रतिशत ब्याज उपलब्ध गराउने भएको छ।

अर्कोतर्फ अधिकांश वाणिज्य बैंकहरुले राष्ट्र बैंकको नियमअनुसार संस्थागत निक्षेपको ब्याजदर १ प्रतिशतले घटाएर ९.०३ प्रतिशत कायम गरेका छन् भने व्यक्तिगत निक्षेपको ब्याजदर ११.०३ प्रतिशत यथावत राखेका छन्। रेमिट्यान्सतर्फ भने १२.०३ प्रतिशत ब्याजदर नै कायम गरिएको छ।