काठमाण्डौ । चालु आर्थिक वर्षको ५ महिनामा बैंक तथा वित्तीय संस्थाले २६ खर्ब रुपैयाँ बढी स्थायी तरलता सुुविधा (एसएलएफ) चलाएका छन्। 

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार विभिन्न बैंक तथा वित्ती संस्थाले ५ महिनामा २६ खर्ब ८२ अर्ब ५७ करोड १७ लाख रुपैयाँ एसएलएफ लिएका हुन्। 

तरलता व्यवस्थापन गर्न साउनदेखि मंसिरसम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाले उक्त रकम लिएको विभागको भनाइ छ। तर, पछिल्लो मंसिर महिनादेखि भने एसएलएफ लिने क्रम घटिरहेको विभागले जनाएको छ। 

राष्ट्र बैंकका अनुुसार आइतबार अन्तरबैंक ब्याजदर ७.१७ प्रतिशतमा कायम भएको छ भने एसएलएफ पनि घट्दो क्रममा देखिएको छ। यसले बैंकिङ प्रणालीमा तरलताको अवस्था सहज हुुँदै गइरहेको स्पष्ट हुन्छ। 

बैंक तथा वित्तीय संस्थाको अनुरोधमा आकस्मिक तरलता व्यवस्थापनका लागि सरकारी ऋणपत्रको धितोमा नेपाल राष्ट्र बैंकबाट निर्धारित अवधिसम्मका लागि प्रदान गरिने तरलता सुविधा नै स्थायी तरलता सुविधा हो। यसको ब्याजदर ८.५ प्रतिशत कायम गरिएको छ।