काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मासिक रुपमा कर्जाको ब्याजदर समेत परिवर्तित आधार दरको आधारमा परिवर्तन गर्नुपर्ने व्यवस्था लागू गरेको छ । 

बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७९ लाई संसोधन गर्दै केन्द्रीय बैंकले यसअघि कायम एक त्रैमासमा एकपटक मात्रै कर्जाको ब्याजदर परिवर्तन गर्न पाइने व्यवस्था हटाएको हो । योसँगै अब मासिक रुपमा घटबढ हुने आधारदरसँगै पुराना र नयाँ कर्जाको ब्याजदर पनि घटबढ हुनेछ । विशेषतः पछिल्लो समय मासिक रुपमा घट्दो आधार दरका कारण पुराना ऋणिहरुले कर्जाको ब्याजदर घट्दा राहात पाउने अवस्था बन्नेछ । 

संशोधित निर्देशनअनुसार अब बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको ब्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको थपघटको सीमासम्म मासिक रुपमा परिवर्तन गर्नुपर्नेछ । तर, पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको परिवर्तनभन्दा बढीले ब्याजदर घटाउन, जुनसुकै अवस्थामा ब्याजदर वृद्धि नगर्न तथा ऋणीसँगको सहमतिमा स्थिर ब्याजदर कायम गर्न यो व्यवस्थाले बाधा नपर्ने राष्ट्र बैंकले व्यवस्था गरेको छ।

त्यसैगरी बैंक तथा वित्तीय संस्थाहरुले अब मासिक तथा पछिल्लो तीन महिनाको औसत आधार दरलाई आफ्नो वेबसाइटमा समेत प्रकाशित गर्नुपर्ने व्यवस्था समेत गरिएको छ । 

राष्ट्र बैंकले ब्याजदर घटाउँदा वा वृद्धि नगर्दा सबै ग्राहकले समान रुपमा सुविधा पाउने गरी व्यवस्था मिलाउनुपर्ने व्यवस्था पनि गरेको छ। यसअघि यस्तो व्यवस्था गरिएको थिएन। 

बैंक तथा वित्तीय संस्थाहरुले कोर बैंकिङ सिस्टममार्फत पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको परिवर्तनअनुसार स्वतः ब्याजदर परिवर्तन हुने प्रणाली विकास गर्नुपर्ने व्यवस्था ल्याएको छ।