काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकलाई प्रदान गर्ने आधारभूत वित्तीय सेवाहरुमा कुनै पनि किसिमको शुल्क लिन नपाउने व्यवस्था रहेको छ।
नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि आज जारी सूचनामा यसबारे जानकारी गराएको हो। आधारभूत वित्तीय सेवामा सबैको पहुँच सहज हुनुपर्दछ भन्ने मान्यताका आधारमा बैंक तथा वित्तीय संस्थाले खाता खोल्दा, चेक जारी गर्दा (गुड फर पेमेन्ट चेकसमेत), चेकको स्टप पेमेन्ट गर्दा र ब्यालेन्स सर्टिफिकेसन गर्दा कुनै पनि किसिमको शुल्क लिन नपाउने व्यवस्था रहेको केन्द्रीय बैंकले जनाएको छ।
यसैगरी खाता सञ्चालन गर्दा, खाता बन्द गर्दा, स्टेटमेन्ट दिँदा, विप्रेषण रकम खातामा जम्मा गर्दा, निष्क्रिय खाता सक्रिय गराउँदा, मोबाइल÷इन्टरनेट बैंकिङको युजरनेम÷पासवर्ड हराएमा, रु. २ लाखभन्दा कम रकमको चेक क्लियरिङ गर्दा र एबीबीएसलगायतका सेवा प्रदान गर्दा पनि बैंक तथा वित्तीय संस्थाहरुले सेवा शुल्क लिन नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ। ‘अन्य सेवाबापतको शुल्क सोही संस्थाले निर्धारण गर्ने गर्छन्’, सूचनामा भनिएको छ।
वित्तीय सेवाको पारदर्शिताका लागि सेवा शुल्कसम्बन्धी विवरण सार्वजनिक रुपमा जानकारी गराउनुपर्ने प्रावधान रहेको सूचनामा उल्लेख छ। त्यसैले बैंक तथा वित्तीय संस्थाले शुल्कसम्बन्धी विवरण (स्ट्यान्डर्ड ट्यारिफ एन्ड चार्जेन्ज) आफ्नो वेबसाइटमा सार्वजनिक गर्ने गर्दछन्। कुनै पनि सेवा लिनुअघि यससम्बन्धी विवरण अध्ययन गर्न पनि राष्ट्र बैंकले सचेत गराएको छ।
विद्युतीय भुक्तानी तथा एटीएमबाट हुने कारोबार र कर्जासम्बन्धी शुल्कहरुमा भने राष्ट्र बैंकबाट सीमा निर्धारण गरिएको छ।
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago