काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुले कर्जा दिएमात्रै अर्थतन्त्र चलायमान हुन्छ भन्नु भ्रममात्रै रहेको बताएका छन्।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले शनिबार आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा गभर्नर अधिकारीले बैंकहरुले कर्जा प्रवाह नगरेकाले मुलुकको अर्थतन्त्र चलायमान हुन नसकेको भन्न नमिल्ने स्पष्ट पारे। ‘बैंकहरुको कर्जा प्रवाह मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी)भन्दा धेरै भइसक्दा पनि कर्जा प्रवाह नभएर अर्थतन्त्र चलायमान हुन नसकेको भन्ने गरिएको छ’, उनले भने, ‘अर्थतन्त्र चलायमान हुँदामात्रै बैंकहरुको कर्जा प्रवाह बढ्छ। कर्जा दिएरमात्रै अर्थतन्त्र चलायमान हुन्छ भन्ने भ्रममा बस्न हुँदैन।’
गभर्नर अधिकारीले नेपालको कर्जा प्रवाह जीडीपीभन्दा धेरै रहेको बताए। ‘अहिले बैंकले लोन नदिएका कारणले अर्थतन्त्र चलायमान भएन भन्ने गरिएको छ’, उनले प्रश्न गरे, ‘बजार चलायमान भएर ऋण चाहिने हो कि ऋण दिएर बजार चलायमान हुने हो ?’
विश्वका केन्द्रीय बैंकहरु पछिल्लो समय अर्थतन्त्रलाई स्थायित्व दिन र मूल्यवृद्धि नियन्त्रणका लागि नीतिगत रुपमा कडाइका साथ उभिएको गभर्नर अधिकारीले अवगत गराए। ‘मुलुकको मूल्यवृद्धि नियन्त्रणमा राष्ट्र बैंकको महत्वपूर्ण भूमिका हुने भएकाले अर्थतन्त्र र मूल्यवृद्धिलाई स्थायित्व राख्नुपर्छ’, उनले भने।
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago