काठमाण्डौ । कोरोना भाइरस संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न बैंक तथा वित्तीय संस्थाहरुले सकेसम्म न्यून कर्मचारीबाट सेवा प्रवाह गर्न र घरबाटै काममा खटाउने वातावरण बनाउन राष्ट्रबैंकले निर्देशन दिएको छ । 

राष्ट्रबैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई आइतबार एक सूचना जारी गर्दै यथासम्भव न्यून कर्मचारीबाट काम गराउन र घरबाटै काम गर्नसक्ने वातावरण बनाउन निर्देशन दिएको हो । 

सजगताका साथ बैंकिङ कार्य सुचारु गराउन भन्दै केन्द्रीय बैंकले कर्मचारीलाई हुनसक्ने संक्रमण तथा संस्थाको विजिनेश कम्युनिटीलाई मध्यनजर गर्दै यथासंभव न्यूनतम कर्मचारीबाट सेवा सुचारु गर्न, यसका लागि रिमोट एक्सेस, वर्क फ्रम होम र सिफ्टवाइज वर्क लगायतका व्यवस्था अवलम्ब गर्न भनिएको छ । 

बैंकिङ सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीको स्वास्थ्य सुरक्षा तथा संक्रमणको संभावनालाई न्यूनिकरण गर्न आवश्यक स्वास्थ्य सुरक्षाका न्यूनतम उपायहरु अनिवार्य रुपमा अवलम्बन गर्न पनि भनिएको छ । 

बैंक तथा वित्तीय संस्थाहरुलाई सेवाग्राहीहरुको भीडभाड नहुने सुनिश्चतताका साथ सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन पनि भनिएको छ। 

यस्तै, केन्द्रीय बैंकले विद्युतीय माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्न पनि आग्रह गरेको छ ।