काठमाण्डौ । धितोपत्र कारोबारको तेस्रो दिन आज मंगलबार  नेप्से परिसूचकमा आएको दोहोरो अंकको उछालसँगै १८०० विन्दु माथि उक्लिएको छ। आज कारोबार रकम साढे ५ अर्ब हाराहारीमा भएको छ।  

आज परिसूचक २९.६८ अंकले उकालो लाग्दै १८१०.११ को विन्दुमा पुगेको हो। यो चार वर्षयताकै उच्च पनि हो।

यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.४२ अंकको बढोत्तरीका साथ ३४९.३७ को उचाइमा पुगेको छ।

जानकारहरुका अनुसार यदि भोलि बैंकिङ समूह चम्किएमा परिसूचकले अलटाइम हाई ब्रेक गर्ने सम्भावना बढेको छ। यदि भोलि परिसूचक ४ प्रतिशतले बढे १८८२ को विन्दु माथि प्ुग्नेछ। योसँगै सन् २०१६ जुलाई २७ का दिन परिसूचकले कायम गरेको अलटाइम हाई १८८१.४५ विन्दुको रेकर्ड ब्रेक हुनेछ।

परिसूचकले १८०० विन्दुमाथि उक्लिएपछि लगानीकर्तामा थप मनोबल बढ्दै जाने र बजारमा हंग्री इन्भेस्टरले कारोबार रकम र सूचकसमेत बढाउने आधार तयार गर्ने विश्लेषकहरु दाबी गर्छन्। 

यीलगायत बजारका अन्य थुप्रै बलिया आधारले पनि छिटै अलटाइम हाईलाई ब्रेक गर्ने विश्लेषकहरुको ठहर छ।

नियमित बढिरहेको बजारमा अल्पकालीन कारोबारी हाबी भई नाफा बुक गर्दा हिजो नेप्सेमा झिनो अंकको ब्रेक लागेको थियो तर, आज परिसूचक ह्वात्तै बढेको छ। सेयर बजारका लागि चौतर्फी माहौल सकारात्मक रहेकाले समेत बजार बढोत्तरी भइरहेको विश्लेषकहरु बताउँछन्।

बहुप्रतिक्षित स्टक डिलर बजार प्रवेश गर्ने तरखरमा रहेको र कुनै पनि बेला सेयर बजारमा प्रवेश गर्ने खबरले समेत नेप्सेमा उत्साह आएको जानकारहरु बताउँछन्।

केही समययता लगानीकर्ताहरुको आकर्षण महँगा कम्पनीहरुमा देखिँदै आइरहेको छ। जसले आज पनि निरन्तर पायो। बीएनटी, एचडीएल, बीबीसी, एसटीसीलगायतका सेयरहरुको मूल्यमा उछाल आउने क्रम जारी नै छ।

यसैबीच नेपाल टेलिकम र नेपाल पुनर्बीमा कम्पनीका सेयर खरिदबिक्रीमा उच्च चाप रहँदा ती कम्पनीका सेयरमूल्य बढेका छन्। जसले बजार पुँजीकरण र नेप्से इन्डेक्सलाई नै सोझै असर गर्दछन्।

सबै सेक्टरहरु हरियाली हुने क्रम भइसकेपछि पछिल्ला केही दिनयता बैंकिङ सेक्टरका आधारभूत रुपमा केही राम्रा कम्पनीहरुको समेत खरिदचाप उच्च देखिएकाले मूल्य निरन्तर बढिरहेको विश्लेषकहरुको भनाइ छ।

आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ११ वटामा हरियाली छाएको छ भने एउटामात्रै रातो पोतिएको छ।

यो दिन निर्जीवन बीमा समूहमा सर्वाधिक ३२७.५१ अंकको उछाल आएको छ। जीवन बीमा समूह २४८.५२ अंकले उकालो लागेको आज उत्पादन तथा प्रशोधन समूहमा २२७.१२ अंक, बैंकिङ समूहमा १.४४ अंक, व्यापार समूहमा १७२.६३ अंक, विकास बैंक समूहमा १२.८६ अंक, जलविद्युत् समूहमा २१.३२ अंक, वित्त समूहमा ६.२३ अंक, अन्य समूहमा ६१.५१ अंक, लघुवित्त समूहमा २५.५९ अंक र म्युचुअल फन्ड समूहमा ०.१ अंकको बढोत्तरी भएको छ।

आज होटेल्स् समूहमा ३४.९२ अंकको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन नेप्सेमा सूचीकृतमध्ये १९६ कम्पनीका १ करोड १७ लाख ४८ हजार ५२० कित्ता सेयर ५ अर्ब ४४ करोड २९ लाख ५० हजार १८९ रुपैयाँमा कारोबार भएको छ।

आज एनआईसी एसिया बैंकको सर्वाधिक ३७ करोड ३३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल टेलिकमको २८ करोड ५१ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन नेपाल पुनर्बीमा कम्पनीको २५ करोड ८२ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २० करोड ९४ लाख रुपैयाँ, नेको इन्सुरेन्सको २० करोड १४ लाख रुपैयाँ, नेसनल लाइफ इन्स्योरेन्सको १८ करोड ९९ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १८ करोड ३३ लाख रुपैयाँ, नेपाल बैंकको १७ करोड ६९ लाख रुपैयाँ, शिवम् सिमेन्ट्सको १५ करोड २३ लाख रुपैयाँ र शिखर इन्स्योरेन्सको १४ करोड ७६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने
आज सातवटा कम्पनीका सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। बोटलर्स नेपाल (तराई), हिमालयन डिस्टिलरी, विशाल बजार कम्पनी, आँखुखोला जलविद्युत्, मल्टीपर्पस फाइनान्स, अजोज इन्स्योरेन्स र ङादी ग्रुप पावरमा १० प्रतिशतको हाराहारीमा सेयरमूल्य बढेर पोजेटिभ सर्किट लागेको हो। यो दिन नेको इन्सुरेन्सको सेयरमूल्य पनि ९ प्रतिशतले बढेको छ।

यो दिन सोल्टी होटेल र सप्तकोशी डेभलपमेन्ट बैंकका सेयरमूल्यमा ३ प्रतिशत बढीको गिरावट आएको छ।