काठमाण्डौ । बैंकिङ प्रणालीमा निक्षेप थपिने क्रम बढेसँगै कर्जा–निक्षेप अनुपात (सीडी रेसियो)मा पनि सुधार भएको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पुस २ गतेसम्म बैंकहरुको औसत सीडी रेसियो ८६ प्रतिशत तल झरेको छ। गत मंसिर २७ गतेसम्म औसत सीडी रेसियो ८६.१५ प्रतिशत रहेकोमा पुस २ गतेसम्म झरेर ८५.९२ प्रतिशत कायम भएको छ। 

पछिल्लो ४ दिनको अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप २३ अर्ब रुपैयाँले बढेको छ। गत मंसिर २७ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५२ खर्ब २८ अर्ब रुपैयाँमा रहेकोमा पुस २ गतेसम्म बढेर ५२ खर्ब ५१ अर्ब रुपैयाँ पुगेको छ। निक्षेप बढेसँगै बैंकहरुको सीडी रेसियो झरेको हो। 

यो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप १८ अर्ब रुपैयाँले बढेको छ। पुस २ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप बढेर ४६ खर्ब २५ अर्ब रुपैयाँ पुगेको छ। गत मंसिर २७ गतेसम्म कुल निक्षेप ४६ खर्ब ७ अर्ब रुपैयाँ थियो। 

यो चार दिनको अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १ अर्ब रुपैयाँ बढेको छ। गत मंसिर २७ गतेसम्म कुल कर्जा लगानी ४७ खर्ब ५८ अर्ब रुपैयाँ रहेकोमा पुस २ गतेसम्म बढेर ४७ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको छ। 

पुस २ गतेसम्म अन्तरबैंक ब्याजदर पनि घटेर ६.७१ प्रतिशतमा झरेको छ। गत मंसिर २७ गतेसम्म अन्तरबैंक ब्याजदर ६.९७ प्रतिशत थियो।