काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) विभिन्न व्यावसायिक संस्थाहरुले बैंकिङ सेवा अवरुद्ध गर्ने कार्य गरेको भन्दै खेद व्यक्त गरेको छ। सिबिफिनले तत्काल त्यस्ता कार्य रोकी बैंकिङजस्तो अत्यावश्यकीय सेवालाई निर्वाध रुपमा सञ्चालन हुने वातावरण सिर्जना गर्न सरकारसँग माग पनि गरेको छ।
सिबिफिनले एक विज्ञप्ति जारी गर्दै आज मकवानपुरको हेटौँडास्थित कुमारी बैंकको शाखा कार्यालयलगायतमा बैंकिङ सेवा अवरुद्ध गर्ने, अत्यावश्यक बैंकिङ सेवा लिइरहेका सेवाग्राहीलाई सेवा लिनबाट वञ्चित गर्ने, धरपकड गर्ने र कार्यालय नै बन्द गर्न पत्र सम्प्रेषणसहित धम्की दिनेजस्ता कार्य भएको भन्दै खेद व्यक्त गरेको हो। ‘यस्ता अत्यन्तै नियोजित गतिविधिहरुप्रति गहिरो खेद प्रकट गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ।
सुरक्षा निकाय, अस्पताल, बैंक तथा वित्तीय संस्था, एम्बुलेन्स, खानेपानी, फोहोर व्यवस्थापनलगायतका क्षेत्रलाई अत्यावश्यक सेवाका क्षेत्रकोरुपमा परिभाषित गरी यस्ता क्षेत्रहरुमा कुनै पनि किसिमका बन्द तथा हड्तालजस्ता कार्यहरु गर्न नहुने र नपाइने गरी नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरिसकेको सिबिफिनले स्मरण गराएको छ। तर, सरकारको निर्देशन उल्लंघन गर्दै विभिन्न व्यावसायिक संस्थाहरुले बैंकिङ सेवा अवरुद्ध गर्ने कार्य गरेको भन्दै सिबिफिन सरकारको ध्यानाकर्षण गराएको छ।
जस्तोसुकै समस्याहरुको समुचित समाधानका उपायहरु वार्ता तथा संवादको माध्यमबाट पहिल्यान सकिने मान्यताबमोजिम बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा गरिने यस्ता धर्ना, धरपकड र कार्यालय नै बन्द गर्ने कार्यहरु तत्काल रोक्न सिबिफिनले आग्रह गरेको छ। ‘वार्ता तथा संवादको प्रक्रियामार्फत समस्या समाधानका लागि तत्काल आवश्यक पहलकदमी लिन नेपाल सरकार, गृह मन्त्रालय, नेपाल राष्ट्र बैंक, सुरक्षा निकायसहित सम्बन्धित व्यावसायिक संस्थाहरुलाई आग्रह गर्दछौँ’, विज्ञप्तिमा उल्लेख छ।
यसका साथै बैंकिङजस्तो अत्यावश्यकीय सेवालाई निर्वाध रुपमा सञ्चालन हुने वातावरण सिर्जना गर्न सरकारसँग सिबिफनले माग गरेको छ। ‘आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाउनसमेत नेपाल सरकार, गृह मन्त्रालय, नेपाल राष्ट्र बैंक, सुरक्षा निकायसहित सम्बन्धित सबैमा अपिल गर्दैछौँ’, सिबिफिनले भनेको छ।
16 hours ago
17 hours ago
17 hours ago
17 hours ago
18 hours ago
18 hours ago
19 hours ago
19 hours ago
20 hours ago
20 hours ago