काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि १६ प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता बनाएको छ ।

चौथो त्रैमास विवरणअनुसार बैंकले १ अर्ब ३० करोड रुपैयाँ वितरणयोग्य मुनाफ आर्जन गरेको हो । अघिल्लो वर्षको तुलनामा बैंकको खुद नाफा ४६.७० प्रतिशतले बढाउन सफल भएको छ ।

समीक्षा अवधिमा बैंकले १ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकको खुद नाफा १ अर्ब ३२ करोड रुपैयाँ थियो ।

बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ७७ करोड रुपैयाँ रहेको छ ।अघिल्लो वर्ष बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ५ करोड रुपैयाँ रहेको थियो । यसले बैंकको व्यवसाय विस्तार सन्तोषजनक रहेको देखाउँछ ।

अघिल्लो वर्षका तुलनामा बैंकको सञ्चालन मुनाफा १ अर्ब १८ रुपैयाँले बढेर ४ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । बैंकको अघिल्लो वर्षको सोही अवधिमा सञ्चालन मुनाफा ३ अर्ब ४४ करोड रुपैयाँ थियो ।

त्यस्तै अघिल्लो वर्ष ३ अर्ब ६१ करोड रुपैयाँ रिजर्बको आकार बढाएर बैंकले ४ अर्ब ५५ करोड रुपैयाँ पुर्याएको छ।

बैंकले रिटेन अर्निङतर्फ ६२.०८ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्ष ८५ करोड ८२ लाख रुपैयाँ रिटेन अर्निङ रहेको बैंकको समीक्षा अवधिमा १ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ ।

बैंकले ८२ अर्ब ९३ करोड रुपैयाँ निक्षेप संकलन गरी ७१ अर्ब ७३ करोड रुपैयाँ ऋण प्रवाह गरेको । अघिल्लो वर्ष सोही अवधिमा बैंकले ७६ अर्ब ९१ करोड रुपैयाँ निक्षेप संकलन गरी ६५ अर्ब ७६ करोड ऋण प्रवाह गरेको थियो।

बैंकको प्रतिसेयर आम्दानी २४.०४ रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा १.५० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको खराब कर्जा १.८२ प्रतिशत रहेको थियो । बैंकको खराब कर्जामा ०.३२ प्रतिशतले घटेको देखाएको छ ।

बैंकको क्यापिटल एडेक्वेसी रेसियो १४.५६ प्रतिशत रहेको छ भने कस्ट अफ फन्ड ७.२६ प्रतिशत र सीडी रेसियो ७५.८० प्रतिशत रहेको छ ।

बैंकले समीक्षा अवधिमा आफ्नो आधार दरलाई ९.९८ प्रतिशतमा सीमित गर्न सफल भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७३.७२ रुपैयाँ र मूल्य आम्दानी अनुपात १०.६५ गुणा कायम भएको छ ।