काठमाण्डौ । अब बैंक तथा वित्तीय संस्थाहरुले एक चौथाई कर्मचारी मात्रै परिचालन गरी सेवा प्रवाह गर्नुपर्ने भएको छ । 

शुक्रबार बसेको कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को बैठकले बैंक तथा वित्तीय संस्थाहरुलाई 

एक चौथाइ कर्मचारी मात्रै राखेर सेवा प्रदान गर्न गराउन निर्देशन दिएको हो । 

दोश्रो लहरको कोरोना संक्रमण तीव्र बनेको र बैंक तथा वित्तीय संस्था उपलब्ध सबै कर्मचारी राखेर संचालन गर्न नियन्त्रणका लागि गरिएको प्रयासहरु निस्प्रभावी देखिएको भन्दै यस्तो निर्णय गरेको हो । 

अब योसँगै बैंक तथा वित्तीय संस्थाहरुले एक चौथाई कर्मचारीलाई मात्र अफिसमा राखेर काम गराउनुपर्नेछ । 

निषेधाज्ञापछि बैंक तथा वित्तीय संस्थाहरुले उपलब्ध कर्मचारीहरुलाई कार्यालयमै बोलाएर काम गरिरहेका छन् । बैंकहरुले बिहान १० बजेदेखि दिउँसो २ बजेसम्मका लागि सेवा सीमित गरेका छन् । तर, सेवा सीमित हुँदा पनि कर्मचारी धेरै आउँदा भीडभाड बढ्ने र कोरोना संक्रमणको जोखिम यथावत रहने भएकोले यस्ता संस्थाहरुलाई समेत नियन्त्रण गर्नुपर्ने आवाज बैठकमा उठेको थियो । 

यस्तै, निषेधाज्ञा लागेको भोलिपल्ट अर्थात शुक्रबार बीमा कम्पनीहरुको नियामक बीमा समितिले एकतिहाई कर्मचारी राखेर सेवा प्रवाह गर्न भनेको छ । तर, बीमा समितिको यो सर्कुलर पनि अब सच्चिने भएको छ । बीमा कम्पनीहरुले पनि एकचौथाई कर्मचारीलाई मात्र कार्यालयमा उपस्थित गराउन सक्नेछन् । 

निर्देशनको पालना नगर्ने कम्पनीलाई सरकारले कारबाही गर्ने बताइएको छ ।