काठमाण्डौ । पूर्व सहमतिअनुसार बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याजदर घटाएर प्रकाशित गरेका छन् । 

अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले माघका लागि निक्षेपको ब्याजदर घटाएर प्रकाशित गरेका हुन् । 

नेपाल राष्टबैंकले पुराना कर्जाको ब्याजदर गणनामा त्रैमासिक रुपमा आधारदरको गणनाको व्यवस्था गरेकोले त्यस्ता कर्जाको ब्याजदर भने यथावत रहेको छ । 

नयाँ कर्जाको ब्याजदर भने केही सस्तिएको छ । 

कुमारी बैंकले प्रकाशित गरेको नयाँ ब्याजदरअनुसार ३ महिना वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत कायम भएको छ । रेमिट खाताको चाहिँ १२ प्रतिशत कायम गरिएको छ भने ३ महिना वा सोभन्दा बढी अवधिको संस्थागत मुद्दति निक्षेपको ब्याजदर ९ प्रतिशत कायम गरिएको छ । संस्थागत मुद्दति खातामा बिडिङ रेट भने ०.५ प्रतिशतले बढाएर दिइने सूचनामा उल्लेख छ । 

कुमारी बैंकको मंसिरको बेसरेट ११.१९ प्रतिशत रहेको छ । लोनको ब्याजदर बेस रेटको २ देखि ६ प्रतिशत प्रिमियम जोडेर आउने अंक बराबर गरिएको छ । 

कुमारी बैंकको फिक्स्ड ब्याजदरको रेट भने घटेको छ । १ देखि ५ वर्ष अवधिको लोनको फिक्स्ड ब्याजदर १३ प्रतिशत, ५ देखि १० वर्षको १३.५० प्रतिशत, १० वर्षभन्दा बढी अवधिको लोनको फिक्स्ड ब्याजदर १३.७५ प्रतिशत कायम गरिएको छ । 

यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमीटेडले समेत माघका लागि नयाँ ब्याजदर प्रकाशित गरेको छ । 

बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११ प्रतिशत, संस्थागतको ९ प्रतिशत र रेमिटान्स खाताको १२ प्रतिशत कायम गरेको छ । 

रिकरिंग फिक्स्ड डिपोजिटतर्फ १२ महिनासम्मको ब्याजदर ११ प्रतिशत तथा ३३ महिना अवधिको ब्याजदर १० प्रतिशत कायम गरिएको छ । 

बचत खाताको ब्याजदर ६.४२ प्रतिशतदेखि ८.४२ प्रतिशतसम्म कायम गरिएको छ । 

कल अकाउण्ट्सको ब्याजदर ३.२१ प्रतिशतसम्म कायम गरिएको बैंकले जनाएको छ ।

कर्जातर्फको ब्याजदरमा भने कुनै परिवर्तन गरिएको छैन । 

ग्लोबल आइएमई बैंकले पनि निक्षेपको ब्याजदर घटाएर प्रकाशित गरेको छ । बचत खाताको ब्याजदर ६.४२ देखि ८.४२ प्रतिशतसम्म कायम गरिएको छ भने मुद्दति निक्षेप तथा कल अकाउण्टको ब्याजदर नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमीटेडजस्तै राखिएको छ । 

यो बैंकको असोजको बेस रेट १०.१९ प्रतिशत रहेको छ । अधिकांश लोनको ब्याजदर बेसरेटमा २.५० देखि ६ प्रतिशतसम्म प्रिमियम जोडेर कायम गरिने सूचनामा उल्लेख छ । 

निश्चित अवधिका लागि स्थिर ब्याजदरतर्फ बैंकले विभिन्न लोन प्रडक्टमा ११.९९ देखि १४ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । 

यसैगरी, हिमालयन बैंकले पनि ब्याजदर घटाएर प्रकाशित गरेको छ । 

व्यक्तिगत मुद्दति निक्षेपको ११ र संस्थागतको ९ प्रतिशत कायम गरिएको छ । 

बैंकको दोश्रो त्रैमासको बेसरेट घटेर १०.४३ प्रतिशत कायम भएको छ । लोनका विभिन्न प्रडक्टको ब्याजदर बेस रेटमा ६ प्रतिशतसम्म प्रिमियम जोडेर कायम गरिने बैंकले जनाएको छ । 

फिक्स्ड प्रकृतिको लोनको ब्याजदर १४.६५ देखि  १५.७५ प्रतिशतसम्म कायम गरिएको छ । 

स्ट्याण्डर्ड चार्टर्ड बैंकको मंसिरको बेस रेट ९.३० प्रतिशत रहेको छ । बैंकले लोनका विभिन्न प्रडक्टहरुको ब्याजदर आधारदरमा २ देखि ५ प्रतिशतसम्म प्रिमियम जोडेर निर्धारण गरेका कारण लोन लिँदा यो बैंकमा सस्तो ब्याजदर पर्ने देखिन्छ । 

यो बैंकले ५ वर्षसम्मको लोनको फिक्स्ड रेट ११.५० प्रतिशत, ७ वर्षसम्मका लागि १२ प्रतिशत, १० वर्षसम्मका लागि १२.५० प्रतिशत तथा १० वर्षभन्दा माथिका लागि १३ प्रतिशत कायम गरेको छ । 

अन्य वाणिज्य बैंकहरुले पनि निक्षेपको ब्याजदर पूर्व सहमतिअनुसार नै घटाएर प्रकाशित गरेका छन् । 

यसैबीच, विकास बैंकहरुले समेत ब्याजदर घटाएर प्रकाशित गरेका छन् । 

सांग्रीला डेभलपमेन्ट बैंकले माघ महिनाका लागि प्रकाशित गरेको नयाँ ब्याजदरअनुसार व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर १२ प्रतिशत रहेको छ । यस्तै, संस्थागतको १० प्रतिशत कायम गरिएको छ । 

अधिकांश विकास बैंकहरुले समान दर प्रकाशित गरेका छन् । 

विकास बैंकहरुको लोनतर्फको ब्याजदर भने उनीहरुको बेस रेट फरक रहेका कारण सोहीअनुसार कायम गरिएको छ । 

मंसिर मसान्तसम्मको सांग्रीला बैंकको आधार दर १२.६० प्रतिशत रहेको छ । यसकारण यो बैंकले लोनका विभिन्न प्रडक्टको ब्याजदर बेस रेटमा ८ देखि १० प्रतिशतसम्म प्रिमियम जोडेर कायम गरेको छ ।

बैंकको ७ वर्षसम्मको लोनको फिक्स्ड रेट १८ प्रतिशत तोकिएको छ । 

मुक्तिनाथ विकास बैंकको मंसिर महिनाको आधार दर १२.५९ प्रतिशत रहेको छ । आधार दरमा ७ प्रतिशतसम्म प्रिमियम जोडेर लोनका विभिन्न प्रडक्टको ब्याजदर कायम गरिएको छ । 

निक्षेप राख्दा वित्त कम्पनीहरुमा बढी ब्याज पाइनेछ । वित्त कम्पनीहरुले पनि आपसमा भएको सहमतिअनुसार नै माघ महिनाका लागि ब्याजदर प्रकाशित गरेका छन् । 

उदाहरणको रुपमा नेपाल फाइनान्सको ब्याजदरलाई लिन सकिन्छ । यो कम्पनीले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ। 

व्यक्तिगत मुद्दतितर्फ ३ महिना अवधिका लागि १२.१० प्रतिशत, ६ महिना अवधिका लागि १२.२० प्रतिशत, ९ महिनाका लागि १२.२५ प्रतिशत, १ देखि २ वर्षका लागि १२.३५ प्रतिशत, २ देखि ३ वर्ष अवधिका लागि १२.५० प्रतिशत र ३ वर्ष वा सोभन्दा माथि अवधिका लागि  १३ प्रतिशत ब्याजदर कायम गरिएको छ । 

संस्थागत मुद्दतितर्फ पनि ३ महिनाका लागि १०.१० प्रतिशत, ६ महिनाका लागि १०.२० प्रतिशत, ९ महिनाका लागि १०.२५ प्रतिशत, १ देखि २ वर्षको लागि १०.३५ प्रतिशत, २ देखि ३ वर्षका लागि १०.५० प्रतिशत र ३ वर्षभन्दा माथिका लागि ११ प्रतिशत ब्याजदर कायम गरिएको छ । 

यो फाइनान्सले फिक्स्ड रेट समेत नयाँ सार्वजनिक गरेको छ । जसअनुसार  ५ वर्षसम्मको होम लोनको फिक्स्ड रेट १६ तथा ५ वर्षभन्दा माथिको हकमा १७ प्रतिशत, पर्सनल अटो लोनको ५ वर्षसम्मका लागि १६ तथा त्यसभन्दा बढी अवधिको हकमा १७ प्रतिशत र अन्य रिटेल लोनका लागि पनि समान रेट कायम गरिएको छ ।