काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाले चैतबाट लागू हुने गरी ब्याजदर घटाएका छन्। 

बैंक तथा वित्तीय संस्थाहरुले मंगलबार चैतबाट लागू हुने गरी घटाएर निक्षेपको ब्याजदर सार्वजनिक गरेका हुन्। 

वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर स्थिर राखेका छन्। साधारण बचत तथा कल निक्षेपको ब्याजदर भने घटाएका छन्। 

वाणिज्य बैंकहरुले साधारण बचतको ब्याजदर ०.४२ प्रतिशतले घटाएका छन्। चैतमा वाणिज्य बैंकहरुले साधारण बचतमा न्यूनतम ६ प्रतिशतदेखि अधिकतममा ८ प्रतिशतसम्म ब्याज उपलब्ध गराउनेछन्। फागुनमा ६.४२ प्रतिशतदेखि ८.४२ प्रतिशतसम्म रहेको थियो। 

उता विकास बैंकहरुले भने मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। विकास बैंकहरुले १ वर्ष वा सोभन्दा माथिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११.६० प्रतिशत र १ वर्षभन्दा मुनिको मुद्दति निक्षेपको ब्याजदर ११.५० प्रतिशत कायम गरेका छन्। 

फागुनमा विकास बैंकहरुले १ वर्ष वा सोभन्दा माथि र कम अवधिको व्यक्तिगत मुद्दति निक्षेपमा ११.७५ प्रतिशत ब्याजदर दिँदै आएका थिए। 

विकास बैंकहरुले चैतमा संस्थागत मुद्दति निक्षेपको ब्याजदर घटाएर ९.५० र रेमिट्यान्समा १२.५० प्रतिशत ब्याजदर कायम गरेका छन्। फागुनमा संस्थागतर्फ ९.७५ र रेमिट्यान्समा १२.७५ प्रतिशत ब्याजदर कायम गरेका थिए। 

विकास बैंकहरुले बचतको ब्याजदर ०.१५ प्रतिशत  बिन्दुले घटेको छ। फागुनमा बचतको न्यूनतम ब्याजदर ६.७५ प्रतिशत रहेकोमा चैतमा भने न्यूनतम ६.६० प्रतिशत कायम गरिएको छ।

उता फाइनान्स कम्पनीहरुले पनि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। फाइनान्सले १ वर्ष वा सोभन्दा माथिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ०.२० प्रतिशतले र १ वर्षभन्दा मुनिको मुद्दति निक्षेपको ब्याजदर ०.१५ प्रतिशतले घटाएका छन्। फागुनमा अधिकतममा १२.२० प्रतिशत ब्याज दिँदै आएका अधिकांश फाइनान्सहरुले अब १२ प्रतिशत ब्याज दिने भएका छन्।