काठमाण्डौ । कोरोना भाइरस बैंक नोट, मोबाइलका स्क्रिन र स्टेनलेस स्टिलजस्ता वस्तुको सतहमा २८ दिनसम्म जीवित रहन सक्ने तथ्य सार्वजनिक भएको छ।

अस्ट्रेलियाको नेसनल साइन्स एजेन्सीका अनुसार कोरोनाभाइरस यसअघि यस्ता केही सतहहरु केही दिनमात्र जीवित रहने आँकलन गरिएकोमा अब लगभग ४ हप्तासम्म जीवित रहन सक्ने तथ्य बाहिर आएको हो। शोधकर्ताहरुले अँध्यारो र स्थिर तापमानमा गरिएको अनुसन्धानबाट यस्तो तथ्य पत्ता लगाएका हुन्। यद्यपि अल्ट्राभाइलेट लाइटको प्रयोगले यो भाइरस नष्ट गर्न सकिने पनि उनीहरुले बताएका छन्। 

शोधर्ताहरुका अनुसार लागि यसअघि बैंक नोट तथा सिसा अथवा मोबाइलको स्क्रिनको सतहमा यो भाइरस २ वा ३ दिनसम्म र प्लास्टिक र स्टेनलेस स्थिलको सतहमा ६ दिनसम्म जीवित रहने पत्ता लागेको थियो। तर अहिले गरेको परीक्षणमा यस्ता वस्तुको सतहमा यो भाइरस ४ हप्ता अर्थात् २८ दिनसम्म रहने पत्ता लागेको हो। 

बायरोलोजी जर्नलमा प्रकाशित यो रिसर्चअनुसार कम तापमानको तुलनामा बढी तापमानमा यो भाइरस थोरै समय जीवित रहने पत्ता लागेको छ। यो भाइरस ४० डिग्री सेल्सियसमा केही सतहहरुमा यो भाइरस २४ घन्टाभित्र निःसंक्रामक हुने गरेको पत्ता लागेको शोधकर्ताहरुले दाबी गरेका छन्। 

शोधका अनुसार यो भाइरस चिल्ला वस्तुहरुमा धेरै दिनसम्म जीवित रहन सक्छन्। जब कि कपडाजन्य वस्तुमा भने यो भाइरस १४ दिनसम्म मात्र जीवित रहने सम्भावना रहेको अनुसन्धानले देखाएको छ। – एजेन्सी