काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)ले बैंकहरुबीच भइरहेको ब्याजदर वृद्धिको लिगलिगे दौडप्रति चासो व्यक्त गर्दै ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य र थप ५ लाख रोजगारी वृद्धिको लक्ष्य समेत हासिल नहुने चेतावनी दिएको छ । 

महासंघका निमित्त महानिर्देशक गोपालप्रसाद तिवारीले एक विज्ञप्ति जारी गर्दै फेरि बैंकको ब्याजदर वृद्धि हुने क्रम सुरु भएको र अव्यवहारिक ढंगबाट एकतर्फी रुपमा ब्याजदर वृद्धि गरिँदा विगतमा भएको लगानी र आगाम िदिनमा हुने लगानीलाई प्रत्यक्ष प्रभाव पार्ने र समग्र अर्थतन्त्र नै प्रभावित हुने चिन्ता समेत व्यक्त गरेको छ । 

महासंघले अस्वभाविक तरिकाले भइरहेको ब्याजदर वृद्धिलाई निश्चित सीमाभित्र रहने वातावरण कायम गर्न सरकार, अर्थमन्त्रालय र नेपाल राष्ट्रबैंकलाई आग्रह समेत गरेको छ ।

‘विगत दुई वर्ष  देखि बैंक तथा वित्तीय संस्थाहरुबाट एक तर्फिरुपमा ऋणको ब्याज दर अचानक बृद्धि भएको कारणले गर्दा उद्योग व्यवसाय क्षेत्रले कठिनाइ भोगिरहेको छ । जसका कारणले एकातर्फ निजी क्षेत्रबाट निर्माणधिन परियोजनाको लागत बृद्धि भएको छ भने अर्कोतर्फ नयाँ परियोजना ल्याउन नसकिरहेको अवस्था छ ।’ विज्ञप्तिमा भनिएको छ–‘नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा बैंकिङ क्षेत्रका जिम्मेवार र पदाधिकारीहरुलाई औपचारिक एवं अनौपचारिक रुपमा नेपालको उद्योग क्षेत्रको प्रतिस्पर्घी क्षमता ह्रास हुन गएकोले उद्योग व्यवसाय क्षेत्रमा नकारत्मक प्रभाव परी उद्योग क्षेत्रमा लगानी समेत निरुत्साहित हुन गएको जानकारी गराउँदै आएका छौ ।’