काठमाण्डौ । बैंक तथा बित्तीय संस्थाहरुले तेश्रो त्रैमासिक बित्तीय प्रगति विवरण सार्वजनिक गरिरहेका बेला र मर्ज लगायतको हल्लाले लगानीकर्ताहरुलाई प्रभाव पार्दा शेयर बजारमा साताको पहिलो कारोबार दिन आइतबार फेरि दोहोरो अंकको उछाल देखिएको छ । 

नेप्से परिसूचक १२.६८ को दोहोरो अंकले बढ्दै १४५४.३५ अंकको नयाँ उचाईमा पुगेको छ । बजार बुल भई नेप्से परिसूचकले नयाँ उचाई चुम्दा उत्पादन समूह,  बिमा र बैकिङ समूहका लगानीकर्ता मालामाल भए । 

आइतबार बजार खुल्दा नेप्से परिसूचक १४४१.७९ अंकमा सीमित थियो । त्यसपछि उकालो लागेको बजार उतराद्र्धमा केही सम्हालिँदै १२.६८ को बढोत्तरीमा आइपुगेको हो । 

हाइड्रोपावर र फाइनान्स समूह बाहेक आइतबार सबै समूहका सूचक उक्लिए । सबैभन्दा बढी उत्पादन समूहको सूचक ६९.८ अंकले उकालो लाग्यो । बिमा समूहको सूचक १९.०८ अंकले उक्लियो भने बैकिंग समूहको सूचकमा पनि १७.६६ अंकको बढोत्तरी देखियो । 

अन्य समूहको सूचक ५.८७, होटल समूहको सूचक ४.४९ र विकास बैंकको सूचक ४.०२ अंकका साथ उक्लिए । 

आइतबार शेयरबजारमा १२० कम्पनीका १० लाख ६१ हजार ८ सय ३५ कित्ता शेयर कारोबार भयो । ३ हजार ६ सय ४१ वटा कारोबारबाट बजारमा ८५ करोड ९३ लाख पूँजी परिचालन भयो । 

आइतबार नेपाल बंगलादेश बैंकको ७ करोड ८० लाख मूल्यको शेयर किनबेच भयो । स्ट्याण्डर्ड चार्टर्डको ६ करोड ८५ लाख रुपैयाँको सेयर किनबेच भयो। आइतबार वाणिज्य बैंकहरुको मात्र ५१ करोड बराबरको शेयर कारोबार भयो ।  सप्तकोशी विकास बैंकको सेयर मूल्य आइतबार पनि १० प्रतिसतले बढ्यो । मञ्जुश्री फाइनान्स र तिनाहु विकास बैंकको सेयर मुल्य पनि नौं प्रतिसत भन्दा धेरैले बढेको छ ।