काठमाण्डौ । सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि जारी गरेको लकडाउनलाई ७ दिन लम्ब्याएर बैशाख ३ गतेसम्म पुर्याउने भएको छ । 

केहीबेरअघि सम्पन्न मन्त्रीपरिषद बैठकले २ सातादेखि जारी लकडाउनलाई पुनः एकसाता बढाएर बैशाख ३ गतेसम्म कायम गराउने निर्णय गरेको हो । 

एक मन्त्रीका अनुसार सीमा बन्द समेत सोही अवधिसम्म कायम रहनेछ । 

सरकारले यसअघि कोरोना भाइरसको प्रकोप रोकथाम तथा नियन्त्रणका लागि भन्दै चैत ११ गते पहिलोपटक लकडाउनको घोषणा गरेको थियो ।

पहिलो चरणमा चैत १८ गतेसम्म घोषित लकडाउन देशमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि जोखिम रहेको भन्दै पुनः ८ दिन बढाएर चैत २५ गतेसम्म कायम गरिएको थियो । 

यो अवधिमा सुदुरपश्चिमका जिल्लामा एकैदिन ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि र बाहिरबाट आएका व्यक्तिले आफन्तलाई समेत संक्रमण सारेको पहिलो घटना बाहिर भएसँगै जोखिम अझै बढेको निश्कर्ष निकाल्दै आइतबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउनको अवधि कम्तीमा ७ दिन लम्ब्याउनुपर्ने निश्कर्ष निकाल्दै सोहीअनुसार सरकारलाई सुझाव दिएको थियो । 

उच्चस्तरीय समितिको सुझाव अनुसार नै लकडाउन लम्ब्याउने निर्णय भएको बताइएको छ ।