काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बोनस सेयरका लागि दुई कम्पनीको सेयरमूल्य आज शुक्रबार समायोजन गरेको छ।

नेप्सेले नेपाल इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआईसी) र नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ। समायोजित मूल्यअनुसार एलआईसी प्रतिकित्ता २ हजार ५०५ रुपैयाँ र नेरुडे लघुवित्तको १ हजार ३६४ रुपैयाँ कायम भएको छ। यसअघि यी दुवैको अन्तिम कारोबार मूल्य प्रतिकित्ता क्रमशः २ हजार ७५५ रुपैयाँ र १ हजार ४७३ रुपैयाँ रहेको थियो। अब दुवै कम्पनीको आगामी आइतबार समायोजित मूल्यअनुसार नै कारोबार खुल्नेछ। 

एलआईसी नेपालले आर्थिक वर्ष २०७५/७६ का लागि कुल १०.५२६३ लाभांश प्रस्ताव गरेको छ। जसमा १० प्रतिशत बोनस सेयर र बाँकी ०.५२६३ प्रतिशत नगद लाभांश रहेको छ। प्रस्तावित लाभांश एआईसीको यही फागुन २५ गते १८ औँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ। 

एलआईसी नेपालले आज फागुन ७ गतेदेखि फागुन २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। 

यसैगरी नेरुडेले आर्थिक वर्ष २०७६/७७ का लागि कुल ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ८ प्रतिशत बोनस सेयर र ०.४२ नगद लाभांश रहेका छन्। नेरुडेको लाभांश पनि संस्थाको यही फागुन २२ गते हुने १४ औँ वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिनेछ।

नेरुडेले आज फागुन ७ गतेदेखि फागुन २२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। 

यसको अर्थ हिजो फागुन ६ गतेसम्म कायम सेयरधनीहरु यी दुवै कम्पनीको लाभांश र सभामा भाग लिन योग्य हुनेछन्।