काठमाण्डौ । नेपाल वायुसेवा निगमले ब्याजको ब्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन आग्रह गरेको छ। 

निगमले आज एक प्रेश विज्ञप्ति जारी गर्दै कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग यस्तो आग्रह गरेको हो। विश्वव्यापी कोरोना भाइरसका कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकाले उक्त अवधिको ब्याजको ब्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन निगमले आग्रह गरेको छ। 

यसका साथै किस्ताको संख्या वृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिनसमेत निगमका प्रवक्ता रमेश पौडेलद्वारा जारी विज्ञप्तिमा आग्रह गरिएको छ।

निगमको अनुरोधबारे कोषसँग छलफल भइरहेको पनि विज्ञप्तिमा जनाइएको छ। ‘वर्तमान नेतृत्वले व्यवस्थापन सम्हालेपछि निगमको व्यापार विस्तार तथा नगद प्रवाहमा क्रमिक सुधार भएको छ’, विज्ञप्ति भनिएको छ, ‘निगमले अन्तर्राष्ट्रिय उडानका लागि दुई न्यारोबडी र दुई वाइडबडी जहाज ऋण लिएर खरिद गरेको छ। ऋणको किस्ताबापत गत वर्षको चैत ३० गते कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरिएको छ।’ 

यसअघि असार महिनामा १ अर्ब ३५ करोड रुपैयाँ, असोजमा ७३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ, पुसमा ३३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ, चैतमा ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ गरी जम्मा २ अर्ब ९४ करोड २८ लाख ६५ हजार ८४४ रुपैयाँ भुक्तानी गरिसकेको विज्ञप्तिमा उल्लेख छ।