कठमाण्डौ । बढ्दो ब्याजदरको उद्योगीव्यवसायीबाट चर्को आलोचना भएपछि अर्थ मन्त्रालयले ब्याजदरका विषयमा अध्ययन गर्न समिति गठन गरेको छ। 

अर्थमन्त्री जनार्दन शर्माको सक्रियतामा ब्याजदरबारे अध्ययन गर्न समिति गठन भएको हो। ब्याजदरमा अत्याधिक वृद्धि हुँदा उद्योगव्यवसाय नै धरासयी भएको भन्दै गुनासो बढ्न थालेपछि अर्थमन्त्री शर्माको पहलमा ब्याजदरका विषयमा अध्ययन गर्न समिति भएको हो। 

सरोकारवालासँगको छलफलपछि आइतबार अर्थ मन्त्रालयका आर्थिक नीति विश्लेषण महाशाखाका प्रमुख सहसचिव बाबुराम सुवेदीको संयोजकत्वमा समिति गठन भएको छ। उद्योगी–व्यवसायीहरुले ब्याजदरका विषयमा आवाज उठाएपछि अर्थ मन्त्रालयले समिति गठन गर्न बाध्य भएको मन्त्रालयले स्रोत बताउँछ। 

लगातार ६ महिनाको भद्र सहमति तोड्दै नेपाल बैंकर्स संघ (एनबीए)ले बैंकहरुलाई ब्याज बढाउन बाटो खोलिदिएको थियो। लगत्तै बैंकहरुले निक्षेपको ब्याजदर औसतमा १० प्रतिशतले बढाएका थिए। 

नेपाल उद्योग वाणिज्य महांघका अध्यक्ष शेखर गोल्छाको सक्रियतामा आज अर्थ मन्त्रालय, राष्ट्र बैंक, निजी क्षेत्र र एनबीएसमेतको छलफलबाट ब्याजदरको विषयमा अध्ययन गर्न समिति बनाउने निर्णय भएको हो। अर्थमन्त्रीको सचिवालयका अनुसार समितिमा नेपाल राष्ट्र बैंकबाट १ जना, एनबीएबाट २ जना, आपूर्ति मन्त्रालयबाट १ जना, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सबाट १–१ जना प्रतिनिधि रहनेछन्।