काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चर्को ब्याजदरबाट उत्पन्न समस्यालाई तत्काल सम्वोधन गर्न सरोकारवाला निकायसँग पुनः आग्रह गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुसँग काठमाण्डौको जमलस्थित चेम्बर भवनमा आज भएको भेटवार्ताका क्रममा अध्यक्ष मल्लले बैंक तथा वित्तीय संस्थामा चर्को ब्याजदरका कारण समग्र अर्थतन्त्रलाई नै जोखिममा पारेको बताए। उनले भने, ‘पछिल्लो समय उच्च ब्याजदरले उद्योगीव्यवसायी एवं समग्र ऋणीहरु निकै मर्कामा परेका छन। ऋण लिएर व्यवसायमा लगानी गन सक्ने अवस्था छैन। यसअघि ऋण लिएकाहरुले समेत सावाँ–ब्याज भुक्तानी गर्न सक्ने अवस्था छैन। यसले समग्र व्यवसायलाई नै जोखिमतर्फ धकेलिरहेको छ।’
उद्योग–व्यवसायमा पछिल्लो समय देखिएको मन्दीको असर अर्थतन्त्रमा दीर्घकालसम्म पर्नेतर्फ अध्यक्ष मल्लले सांसदहरुको ध्यानकर्षण गराए।
ब्याजदर नियन्त्रणसँगै अर्थतन्त्रका अन्य चुनौतीहरुलाई पनि सम्बोधन गर्नुपर्ने मल्लले बताए। उनले भने, ‘पुँजीगत खर्च हुन सकेको छैन। सार्वजनिक ऋण कुल ग्रार्हस्त उत्पादन जीडीपीको ४२ प्रतिशत हाराहरीमा पुगिसकेको छ। आन्तरिक उत्पादन ठप्प हुँदा ब्यापार घाटा आकासिएको छ। रोजगारी सिर्जना हुन सकेको छैन। आमसर्वसाधरण नागरिकसँग जोडिएका विषयलाई संसदबाट प्रभावकारी रुपमा आवाज उठ्न जरुरी भइसक्यो।’
नागरिकको प्रत्यक्ष सेवा प्रवाहसँग जोडिएका राहदानी विभाग, यातायात व्यवस्था विभाग, कर राजश्वजस्ता क्षेत्रमा निश्चित समय नै तोकेर परिणाम दिने गरी काम गर्नुपर्ने मल्लको भनाइ थियो। नागरिकको सेवा प्रवाह जोडिएका क्षेत्रमा टाइम कार्ड लागू गर्नुपर्नेमा उनले जोड दिए।
मुलुकको अर्थतन्त्रलाई डिजिटल प्रणालीमा लैजानका लागि ठोस र प्रभावकारी रणनीति बनाउनुपर्ने अध्यक्ष मल्लले बताए। डिजिटल कारोबारलाई प्रश्रय दिएर उधारो कारोबारलाई सदाका लागि निष्तेज गर्नुपर्ने उनको भनाइ छ।
चेम्बर पदाधिकारीसँग भएको छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमोना श्रेष्ठले मुलुकको आर्थिक व्यवस्थालाई राजनीतिको छायाँबाट मुक्त बनाउनुपर्ने बताइन्। संसदमा आफूहरुले यो विषयमा पटक–पटक सरकारको ध्यानाकर्षण गराएकोे उनको भनाइ थियो।
अर्थतन्त्रसँग जोडिएका कतिपय ऐन–नियम पुरानो भएकाले पनि परिणाममुखी काम गर्न समस्या भएको श्रेष्ठले बताइन्। ‘हामी निजी क्षेत्रसँग मिलेर काम गर्न तयार छौँ’, उनले भनिन्, ‘अर्थतन्त्रसँग सम्बन्धित विधेयकहरुमा निजी क्षेत्रको सुझावलाई पनि पार्टीले ग्रहण गर्छ।’
सोही पार्टीका अर्का सांसद हरि ढकालले उद्योगी–व्यवसायी कुनै राजनीतिक दल विशेषसँग जोडिन नहुने बताए।
मुलुकको पछिल्लो आर्थिक अवस्थाबारे भएको अन्तर्क्रिया कार्यक्रममा चेम्बरका पदाधिकारी र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु उपस्थित थिए।
17 hours ago
17 hours ago
17 hours ago
18 hours ago
18 hours ago
19 hours ago
19 hours ago
20 hours ago
20 hours ago
20 hours ago