– अर्जुन तिमिल्सिना

काठमाण्डौ । बिदाको समयमा मनोरञ्जन गर्ने सबैको आ–आफ्नै शैली हुन्छन्। कोही विदेश घुम्न रुचाउँछन् भने कोही स्वदेशमै रमाउँछन्। 

दसैँमा लामो बिदा पर्ने भएकोले पनि विभिन्न पेसा तथा व्यवसाय गर्नेहरु घुम्न र डुल्ने अवसर हुन्छ। लामो समय अफिस तथा व्यापारमा व्यस्त हुनेहरु यो बेलामा केही समय कामबाट टाढा हुन रुचाउँछन्। 

त्यसो त विकसित देशहरुमा तीन–तीन महिनामा अफिस तथा कामबाटै २ साताको ‘पे होली डे’ मिल्ने भएकोले धेरै विदेशीहरु देशबाहिर छोटो समयका लागि भए पनि घुम्न निस्किने गरेको पाइन्छ। तर, नेपालमा त्यो चलन नभए पनि दसैँको बेला लामो बिदा मिल्ने भएकोले घुमफिर गर्नेको संख्या अहिले दिन प्रतिदिन् बढ्दोछ। 

यसै सिलसिलामा हामीले काठमाण्डौका केही ब्रोकर सञ्चालकहरुको दसैँ योजनाबारे बुझेका छौँ। 

एसियन सेक्युरिटिज (स्टक ब्रोकर नं. २६) सञ्चालक राजकुमार खत्री यसपालिकाको दसैँ केही भिन्न तरिकाले मनाउने सोचमा रहेका छन्। खत्रीको पुख्र्यौली घर गोरखा हो। उनी दसैँ मनाउन गोरखा पुगेका छन्। खत्रीले आफू पढेको स्कुलमा सामाजिक काम  रक्तदान कार्यक्रम तथा शुभकामना आदनप्रदान कार्यक्रममा सहभाागी भएका छन्। 

खत्रीले यसपालिको दसैँ परिवारसँगै मनाउनेछन् भने बुवा–आमाको हातबाट टीका थाप्नेछन्। दसैँको टीकाको भोलिपल्ट खत्री दम्पती केन्या जाने विचार छन्। केही दिन केन्यामा दसैँ छुट्टै मनाउने उनको योजना छ। 

सुमेरु सेक्युरिटिज (स्टक ब्रोकर नं. ३९) का सञ्चालक प्रेम अग्रवाल पनि यसपालिकाको दसैँ बिदामा राजधानीबाहिर घुम्न निस्कनेछन्। अग्रवालको विचारमा दसैँ भन्नेबित्तिकै नवरात्री र चाडपर्व भनेर सम्झिन्छन्। दसैँमा खासगरी खानपान र घुमघाम नै रहेको अग्रवालको अनुभव रहेको छ। अग्रवाल शाकाहारी हुन्। त्यसैले उनीलाई पनिर, फलफूल तथा मिठाई उनको रोजाइमा पर्छन्। बालपनको दसैँ सम्झिँदै अग्रवालले भने, ‘सानो छँदा गाउँघरमा दसैँ मनाउँदा निकै रमाइलो हुन्थ्यो।’

काठमाण्डौमा सुनसान हुने तर गाउँघर नै अविष्मरणीय रहेको अग्रवालको भनाइ छ। लगानीकर्तालाई शुभकामना दिँदै उनले अहिले बजार घट्यो भनेर खासै आत्तिनु नपर्ने बताए। 

त्रिशक्ति सेक्युरिटिज (स्टक ब्रोकर नं. ४८)का प्रमुख कार्यकारी अधिकृत टंकप्रसाद गौतमको यसपालि दसैँमा टीका छैन। तर, पनि विगतको दसैँ सम्झिँदै उनले दसैँ सहरमा भन्दा गाउँ नै रमाइलो हुने बताउँछन्। उनको पहाड घर रामेछाप हो। अहिले दसैँ परिवारसँग घरमै बस्ने उनको विचार छ। 

गौतमको विचारमा दसैँ मनाउने शैली उमेर समूहअनुसार फरक–फरक हुन्छ। दसैँ खासगरी स्कुल जीवनमा लामो बिदा हुने भएकोले बढी महत्व हुने उनको अनुभव छ।

मल्ल एन्ड मल्ल सेक्युुरिटिज (स्टक ब्रोकर नं. ११) का सञ्चालक परमेश्वरभक्त मल्लले दसैँमा पूजापाठमा बढी समय दिनेछन्। उनी पनि घरपरिवारसँगै दसैँ मनाउने योजनामा छन्।