–अनन्त्य सुन्दर (प्रशिक्षार्थी पत्रकार)

काठमाण्डौ । झापा घर भएका सेयर बजारका लगानीकर्ता रोशन दंगाल विगत केही वर्षदेखि सुमेरु सेक्युरिटिजबाट कारोबार गर्दै आएका छन्। दंगालले केही महिनाअघि फरवार्ड माइक्रोफाइनान्सको सेयर फोन गरेर बिक्रीमा राखेका थिए। उनले आफ्नो सेयर बिक्री भयो कि भएन भनेर सोधपुछ गर्न ब्रोकरलाई पटक–पटक सम्पर्क गर्ने कोसिस गरे। तर धेरै पटक सम्पर्क गर्दा पनि ब्रोकरको फोन उठेन।

इम्पेरियल सेक्युरिटिजबाट सेयर बजारमा कारोबार गर्दै आएका आशीष कुशवाहाको अनुभव पनि त्यस्तै छ। कुशवाहाले आफ्नो खातामा भएको सेयर टीएमएसबाट बेचे। तर उनले सेयर बेचेको १५ दिनसम्म पनि पैसा पाएनन्। कुशवाहा भन्छन्, ‘कोल्याटरल नभएकाले न त मैले सेयर किन्न पाए न त सेयर बेचेको पैसा नै।’ 

अर्का लगानीकर्ता सौरभ दुलालको अनुभव भने फरक किसिमको छ। अग्रवाल सेक्युरिटिजबाट कारोबार गर्दै आएका दुलालले एक दिन कारोबार गर्न खोज्दा टीएमएस नै चलेन। ब्रोकर अफिसमा सम्पर्क गर्दा कोल्याटरल डिपोजिट नगरी टीएमएस नचल्ने ब्रोकरले बताए।

यी त हुन ब्रोकर कम्पनीका कारण दुख पाएका लगानीकर्ताको प्रतिनिधि घटनाहरूमात्र हुन्।  नेपाली सेयर बजारमा लगानीकर्ता बढेसँगै असन्तुष्टि पनि बढ्दो छ। ब्रोकर, लगानीकर्ता संघसंगठन, लगानीकर्तालगायत अन्य नियामक निकायहरूले समयमै समस्याहरूको समाधान पहिचान गरी उचित निर्णय गरी बजारमा सुधार ल्याउन आवश्यक छ।

नेपालमा अहिले ५० वटा ब्रोकर सञ्चालनमा छन्। ब्रोकर र लगानीकर्ताबीचको सम्बन्धले दीर्घकालीन रूपमा बजारलाई असर गर्छ। दीर्घकालीन रूपमा बजार स्थिर हुनका लागि ब्रोकर र लगानीकर्ताबीचको सम्बन्ध सुमधुर हुन आवश्यक छ। तर अहिले बजारमा अधिकांश लगानीकर्ताको असन्तुष्टि देखिन्छ। ब्रोकरसँग सम्बन्धित गुनासो धेरै लगानीकर्ताको छ।

ब्रोकरले समयमा फोन नउठाउने, पैसा समयमा नहाल्दिने, सेटलमेन्ट समयमा नगर्दिनेलगायत अन्य समस्या लगानीकर्ताले भोग्दै आएको देखिन्छ। सेयर बजारमा अहिले दैनिक रूपमा कारोबार रकम र लगानीकर्ताको संख्या दुवै बढ्दो क्रममा छ। तर ब्रोकरले राम्रो सेवा दिन नसकेकाले लगानीकर्ता प्रायः बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने मुद्दा उठाउँदै आएका छन्।

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारका अनुसार अहिले स्वदेशका मात्र नभएर विदेशबाट लगानी गर्दै गरेका लगानीकर्ता पनि मारमा छन्। लगानीकर्ताले समय–समयमा आफ्नो समस्या राख्दा पनि सेबोन, नेप्सेलगायत अन्य नियामक निकायहरू चुप बस्नु सही नभएको उनी बताउँछन्। 

‘बुलिस बजारमा लगानीकर्ताको संख्या बढ्नुका साथै धेरै कारोबार गर्ने भएकाले ब्रोकरले सेवामा सुधार गर्न आवश्यक छ। नियामक निकायहरूलाई सुधारका लागि घच्घच्याउँदा पनि नियामक निकायहरूले केही नगर्नु लज्जास्पद छ’, रौनियार भन्छन्, ‘लकडाउन खुल्नेबित्तिकै नियामक निकायहरूसँग टेबल टक गरी समस्या समाधान पत्ता लगाउनुका साथै लगानीकर्ताले आफ्ना समस्या इन्भेस्टर्स फोरममा पठाउन पनि सक्छन् । हामी नियामक निकायसँग समस्याको समाधानको लागि कुरा गर्छौं।’

नेपाल धितोपत्र बोर्ड (सेबोन) का प्रवक्ता निरज गिरीका अनुसार अहिले लकडाउनले गर्दा पनि धेरैजसो लगानीकर्ताले समस्या भोग्नुपरेको बताए। लकडाउनले गर्दा पनि ब्रोकरले गुणस्तरीय सेवा दिन समस्या हुँदै आएको गिरीले बताए। ‘अनलाइन कारोबार सुरु भएसँगै नेपाली लगानीकर्ता प्रविधिमैत्री हुँदै गएका छन्। ब्रोकरले दिने सेवा कसरी सुधार गर्न सकिन्छ ? भनेर सेबोनले ब्रोकरहरूसँग भर्चुअल छलफल गर्ने तयारी गर्दैछ’, गिरीले भने, ‘लगानीकर्ताको समस्या सम्बोधनका लागि सेबोनले एउटा छुटै विभाग बनाएको छ।’ 
ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीका अनुसार लकडाउन भएकाले धेरैजसो लगानीकर्ताको असन्तुष्टि रहेको बताए। मैनाली भन्छन्, ‘लगानीकर्ताभन्दा हामी ब्रोकर १० गुणा बढी चिन्तित भएकाले निरन्तर समस्या समाधानमा लागि परेका छौँ।’

बजार बन्द भएपछि सेटलमेन्टका लागि एक–दुई घन्टामात्र हुनुका साथै नेपाल क्लियरिङ हाउस दिउँसो २ बजेसम्म मात्र सञ्चालन हुने भएकाले सेटलमेन्टमा ढिलाइ हुँदै आएको छ। ‘यसको समाधानका लागि विभिन्न निकायहरूसँग छलफल अगाडि बढेको छ’, मैनालीले भने।

‘हामी ब्रोकरहरूले अहिले आफ्नै टीएमएस ल्याउने तयारीमा छौँ। साउनमा नै आउने भनिएको टीएमएस नीतिगत समस्याले गर्दा सञ्चालनमा आउन ढिलो हुने देखिन्छ’, मैनालीले भने, ‘नेप्सेले ब्रोकरलाई अन्तर्राष्ट्रियस्तरको ब्रोकरेज सुविधा सञ्चालनका लागि सहज वातावरण सिर्जना गरे धेरैजसो समस्या समाधान हुन्छ।’ 

नेपालमा अहिले सञ्चालनमा रहेको ब्रोकरको संख्या ५० मात्र भएकाले ब्रोकरहरूले गुणस्तरीय सेवा नदिएको लगानीकर्ताको गुनासो छ। मैनाली भन्छन्, ‘श्रीलंकामा २९ वटामात्र ब्रोकर सञ्चालनमा छन्। नेपालमा २०० ब्रोकर सञ्चालनमा भए पनि समस्या २० बाट १९ मात्र हुन्छ तर समस्या शून्यमा भने आउँदैन।’ 

अहिले सञ्चालनमा रहेको ब्रोकरहरूले कारोबार सजिलै थेग्न सक्ने मैनालीको दाबी छ। त्यसैले ब्रोकरको संख्याले समस्या उत्पन्न नभएको उनको भनाइ छ। बजार सञ्जाल विस्तार गरेमा धेरै समस्याहरू समाधान हुने उनले बताए। 

लकडाउनले गर्दा अहिले एउटा ब्रोकर अफिसमा ३ जना कर्मचारीले मात्र सेवा दिँदै छन्। ‘त्यसैले ब्रोकरको फोन नउठ्ने समस्या आएको छ’, मैनालीले भने, ‘हाम्रा कर्मचारी दिनरात काम गर्दै हुनहुन्छ।’ 

ब्रोकरको वेबसाइट साथै फेसबुक पेजहरूमा अहिले धेरैजसो कर्मचारीको आफ्नो भाइबर, इमो नम्बरहरू राखिएको छ। त्यसैले कारोबार गर्न थप सहज हुँदै गएको मैनालीले बताए। ‘टीएमएस नचल्दा ब्रोकरले टीएमएस ब्लक गर्यो भनेर भ्रामक समाचार सामाजिक सञ्जालमा फैलाइन्छ। त्यस्ता समाचारले ब्रोकर र लगानीकर्ताबीचको सम्बन्धमा चिसोपन ल्याउने काममात्र गर्नेछ’, मैनालीले भने, ‘ब्रोकरले आफ्नै ग्राहकलाई सेवाबाट कसरी वञ्चित गर्न सक्छ र ?’

बजारमा लगानीकर्ता र ब्रोकरबीच सुमधुर सम्बन्ध भयो भने मात्र दीर्घकालीन रूपमा बजार स्थिर हुने मैनालीको भनाइ छ। 

घअहिले अधिकांश लगानीकर्ताले अनलाइनबाट कारोबार गर्नु हुन्छ। त्यसैले सर्भरमा चाप बढेको छ’, उनले भने, ‘ब्रोकरले पनि नेप्से, सीडीएससीलगायत अन्य निकायसँग समन्वय गरेर सेवा दिनुपर्ने भएकाले सेयर बजारमा अहिले केही प्राविधिक समस्या आएका हुन्। आउने दिनहरूमा ब्रोकर एसोसिएसनले लगानीकर्ता साथै नियामक निकायहरूसँग निरन्तर छलफल अगाडि बढाएर गुणस्तरीय सेवा दिनेछ।’