काठमाण्डौ। अर्थमन्त्रालयलद्वारा गठित एक छानबिन समिति तथा सुझाव कार्यदलले ब्रोकरहरुलाई सेयर कारोबार गर्न नदिने व्यवस्था गरिनुपर्ने सुझाव दिएको छ । 

पूँजीबजारको नियामक निकाय धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाको विषयमा छानबिन गर्न गठित उच्च अदालतका एक पूर्व न्यायाधीश नेतृत्वको कार्यदलले ब्रोकरहरुलाई सेयर कारोबारमा रोक लगाएको खण्डमा बजारका धेरै विकृति कम हुने र चलखेल पनि रोकिने लगायतका सुझाव दिएको हो । 

अर्थमन्त्री जनार्दन शर्मालाई बुझाइएको प्रतिवेदनमा ब्रोकरहरुलाई सेयर कारोबारमा रोक लगाउने व्यवस्था हुनुपर्ने भनिएको छ । हाल ब्रोकरहरुले आफ्नै कम्पनीमार्फत सेयर खरिद नगरी अन्य ब्रोकरबाट गर्न पाउने व्यवस्था छ । तर, यो व्यवस्था खारेज गर्नुपर्ने प्रतिवेदनमा सुझाव दिइएको देखिएको छ । 

प्रतिवेदनमा दिइएको सुझाव सकेसम्म चाँडो कार्यान्वयन हुनुपर्नेमा अर्थमन्त्री शर्माले समेत जोड दिने गरेका छन् । तर, ब्रोकरलाई सेयर खरीदबिक्री गर्न नदिने सुझाव कार्यान्वयन हुन्छ या हुँदैन भन्ने विषयमा चाहि अर्थमन्त्रालयका अधिकारीहरुले अहिलेसम्म केही पनि बताएका छैनन् । 

पुँजीबजारप्रति पछिल्लो समयमा निकै अनुदार बनेको सरकारले एकपछि अर्को नीतिगत आक्रमण गर्न थालेको छ। नेपाल धितोपत्र बोर्डले जोखिमपूर्ण भन्दै ५१ वटा कम्पनीको नामावली सार्वजनिक गरेपछि र नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितोकर्जाको सीमा तोकेपछि बजारमा निरन्तर ओरालो लागेको छ। 

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष सन्तोष मैनालीले आफूले पनि यस्तो सुझाव छानबिन समितिले दिएको भन्ने सुनेको  बताए। ‘हालको धितोपत्र कारोबार नियामवलीले ब्रोकरलाई दोस्रो ब्रोकरबाट सेयर खरिद गर्न रोक लगाएको छैन’, उनले भने, ‘अब ब्रोकर कम्पनीलाई वा ब्रोकरलाई नै सेयर खरिदमा रोक लगाउने व्यवस्था गरिए उचित हुने छैन।’ 

मैनालीले अन्तर्राष्ट्रिय रुपमा पनि यस्तो अभ्यास नभएको बताए। ‘यो व्यवस्थाले ब्रोकरहरुलाई झन संकुचित बनाउनेछ’, उनले भने, ‘हामीले ब्रोकरहरुको कार्यक्षेत्र विस्तार र थप कार्यहरु माग्दै आएका छौँ। तर, नियामक निकाय हामीलाई कस्न थालेको छ।’

बजार जानकार गोविन्दप्रसाद घिमिरेले ब्रोकरहरुले पार्टनरसिपमा चलेको हुनाले संस्थागत रुपमा सेयर नकिन्ने बताए। ‘व्यक्तिगत रुपमा अनलाइन आएपछि आफ्नै ब्रोकरमार्फत किनेका पनि हुन सक्छ तर बजारलाई नै प्रभावित पार्ने गरी संस्थागत रुपमा भने सेयर किनेका छैनन् जस्तो लाग्छ’, उनले भने। 

एसियन सेक्युरिटिज बुटवल शाखाका प्रबन्धक दिननाथ शर्माले ब्रोकरहरुलाई सेयर कारोबार गर्न नै नदिनुपर्ने भनी प्रतिवेदनमा आएको सुझाव हाँस्यास्पद रहेको बताए । संसारको कुनै पनि बजारमा नभएको अभ्यास यहाँ गर्न खोजिए त्यसले दुर्घटना हुने उनको चेतावनी छ ।