काठमाण्डौ । बजारमा कारोबार बढेसँगै आम्दानीमा पनि बढोत्तरी भए पनि लगानीकर्ताहरुले न्यूनतम सुविधा समेत नपाएपछि बजारको फ्रन्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)ले ब्रोकरलेस कारोबार(ब्रोकरबिहीन कारोबार)को बिषयमा छलफल थालेको छ । 

अनलाइन प्रणालीका कारण कारोबार रकममा निकै ठूलो बढोत्तरी भएर कमिसनबाट हुने आम्दानी ह्वात्तै बढे पनि ब्रोकरहरुले न्यूनतम पूर्वाधार निर्माणमा समेत लगानी गर्न नमानेका निश्कर्ष निकाल्दै लगानीकर्ताको सहजताका लागि ब्रोकरलेस कारोबार(ब्रोकरबिनाकै सेयर कारोबार)को मोड्यूल लागू गर्न सकिने या नसकिने विषयमा नेप्सेले आन्तरिक छलफल थालेको हो । 

नेप्सेका एक उच्च अधिकारीका अनुसार भारतको सेयर बजारमा ब्रोकरलेस कारोबारको मोडल सफल भइसकेको छ । यो मोडल नेपालमा पनि कार्यान्वयनमा ल्याउन सकिए लगानीकर्ताहरुको लागत पनि कम हुने र ब्रोकरहरुको सिण्डिकेट पनि अन्त भई प्रतिस्पर्धी सेवा लाभग्राहीले पाउने विश्लेषण गरिएको ती अधिकारीले जानकारी दिए । 

‘ब्रोकरहरुले अनलाइन कारोबार प्रणालीमा लगानी नै गरेका छैनन् । लगानी गर्न बारम्बार आग्रह गर्दा पनि आनाकानी गरेर सबैले नेप्सेकै मुख ताक्ने काम मात्र भयो ।’ ती अधिकारीले बिजशालासँग भने–‘आम्दानीमा यति ठूलो वृद्धि हुँदा पनि लगानीकर्ताको सहजताका लागि ब्रोकरले लगानी नथप्ने हो भने अब ब्रोकरलेस कारोबारको व्यवस्था गराउनुपर्छ भन्ने हाम्रो धारणा हो । यो विषयमा हामीले आन्तरिक रुपमा छलफल सुरु गरिसकेका छौं ।’ 

ती अधिकारीको भनाईमा ब्रोकरलेस कारोबारमा सहभागी हुने लगानीकर्ताले कमिसनको रुपमा अहिले तिरिरहेको रकमको बढीमा ३० प्रतिशत मात्र तिरे पुग्छ । यदि यसो भयो भने कमिसनकै रुपमा लगानीकर्ताको लाखौं रुपैयाँ खर्च हुने अवस्थाको पनि अन्त हुन्छ ।

ब्रोकरलेस कारोबारमा सहभागी हुने लगानीकर्ताले आफूलाई आवश्यक पर्ने अनलाइन कारोबारको लगइन र पासवर्ड सोझै नेप्सेबाट लिन सक्नेछन् ।

यसका लागि नेप्सेले सिस्टम अपग्रेड र केही पूर्वाधार तयारीमा थोरै लगानी थपे पुग्छ । तर, यसरी कारोबार गर्ने लगानीकर्ताहरुले सेयर किन्दा जतिको किन्ने हो, सो बराबरको रकम भने पहिला नै बैंक खातामा जम्मा गर्नुपर्ने नियम बन्नसक्छ । अहिले २५ प्रतिशत रकम ब्रोकरलाई दिएर सेयर किनी बाँकी रकम २ दिनभित्र भुक्तानी गरे पुग्छ । 

ती अधिकारीका अनुसार नेप्सेमा छलफल थालिएको र ब्रोकरलेस कारोबार संभव भए त्यसको निश्कर्षसहित आवश्यक सिफारिस धितोपत्र बोर्डमा गरिनेछ । ‘हामीलाई लाग्छ लगानीकर्ताको सहजताका लागि बोर्डले समेत यो विषयमा सकारात्मक सहयोग गर्नेछ ।’ ती अधिकारीले भने–‘ब्रोकरको सिण्डिकेटका कारण लगानीकर्ताले अनावश्यक दुःख पाए । ब्रोकरले बिना लगानी कुस्त कमाउने, तर लगानीकर्तालाई सुविधा दिन कञ्जुस्याई गरेपछि अब ब्रोकरलेस कारोबारमा नगई हुँदैन भन्ने हाम्रो भनाई हो ।’ 

नेप्सेका ती अधिकारीको दाबीअनुसार लगानीकर्ताहरुबाट पनि ब्रोकरलेस कारोबारको व्यवस्था हुनुपर्ने माग पछिल्लो समय जोडतोडका साथ उठिरहेको छ । ‘लगानीकर्ताहरुले हामीसँग अनौपचारिक रुपमा यो मोडलको विषयमा कुरा गरेपछि नै हामी पनि यस विषयमा छलफल थाल्न बाध्य भएका हौं ।’ ती अधिकारीले थपे–‘नेप्सेले चाँडै यो विषयमा निश्कर्ष निकाल्नेछ ।’