काठमाण्डौ । स्टक ब्रोकर एशोसिएसनले साउनदेखि सामूहिक रुपमा टिएमएस संचालनमा ल्याउने नाममा पूँजीबजारलाई नियन्त्रणमा लिन खोजेको आरोप लागेको छ । 

नेप्सेका उच्च अधिकारीहरुले ब्रोकरहरुले समग्र क्यापिटल मार्केटलाई आफ्नो नियन्त्रणमा लिनका लागि संसारमा कहीँ पनि प्रयोग नभएको सामूहिक टिएमएस चलाउने गरी कम्पनी स्थापना गर्न खोजेका भन्दै आपत्ति जनाएका छन् । 

‘ब्रोकरहरुले साझा कम्पनी खडा गरी टिएमएस चलाउने भन्ने कुरा अव्यवहारिक मात्र होइन, पूँजीबजारमा आफ्नो नियन्त्रण कायम गर्ने र लगानीकर्ताको डेटामाथि आधिपत्य जमाउने असफल प्रयास मात्र हो ।’ नेप्सेका एक अधिकारीले नाम उल्लेख नगरिदिन आग्रह गर्दै भने–‘हामी कुनै पनि हालतमा ब्रोकरहरुलाई सामूहिक रुपमा टिएमएस चलाउन दिंदैनौ, उनीहरुले यो काम गर्नै पाउँदैनन् ।’ 

ती अधिकारीले ब्रोकरले व्यक्तिगत रुपमा आफ्नो क्षमताअनुसारको अर्डर म्यानेजेमन्ट सिस्टम भने संचालन गर्न पाउने बताए । 

‘सामूहिक रुपमा ब्रोकरलाई टिएमएस चलाउन दिनु भनेको क्यापिटल मार्केट उनीहरुलाई जिम्मा लगाउनु हो ।’ ती अधिकारीले भने–‘यस्तो भयो भने भोलिको दिनमा सरकारले चाहेर पनि केही गर्न नसक्ने अवस्था सिर्जना हुन्छ । यो गल्ती हामी गर्दैनौं ।’ 

नेपालका ब्रोकरहरु श्रीलंका घुमेर आएका र त्यहाँ इण्डिभिजुअल रुपमा ब्रोकर कम्पनीले चलाएका टिएमएसको अभ्यास यहाँ पनि प्रयोगमा ल्याउन खोजेका उल्लेख गर्दै ती अधिकारीले भने–‘श्रीलंकामा ब्रोकरको चुक्तापूँजी १० अर्ब छ । यहाँ २ करोड मात्र छ । कसरी हुन्छ ? यो संभव नै छैन । ब्रोकर साथीहरुको सस्तो प्रचार मात्र हो यो ।’ 

हाल ब्रोकर कम्पनीहरुले वाइकोले बनाएको अनलाइन कारोबार प्रणालीको डेटा सेन्टरको भाडा मात्र तिरिरहेका छन् । बाँकी सबै सुविधा निःशुल्क पाइरहेका नेप्सेको दाबी छ । ‘अहिले उनीहरुको एकपैसा लगानी परेको छैन । उनीहरु आफैंले हार्डवेयर किन्न नसक्ने, अनि टिएमएसको रहर गर्ने ?’ ती अधिकारीले आक्रोशित मुद्रामा भने–‘ब्रोकर साथीहरुले कुनै व्यापारी र आइटीवालाहरुले घुमाइरहेको छ । कुनै ठूलै व्यापारीको स्वार्थ देखिन्छ ।’ 

टिएमएस चलाउने भनेर कम्पनी स्थापना गर्ने र ५० वटा ब्रोकरमध्ये बोर्डमा ५–७ जना बसेर अरुको डेटा समेत दुरुपयोग गरी कुस्त कमाउने बाटो मात्र अवलम्बन गर्न खोजिएको ती अधिकारीको आरोप छ । ‘यस्तो भयो भने एकले अर्कालाई सिध्याउने खेल सुरु हुन्छ । बजारमा अस्वस्थ प्रतिस्पर्धा हुन्छ। लगानीकर्ताको व्यक्तिगत डेटाको चरम दुरुपयोग हुन्छ । किनभने एउटा ब्रोकरको कारोबारको विवरण अर्कोलाई थाहा हुनुभएन ।’–उनले भने ।

ती अधिकारीहरुले अर्डर म्यानेजमेन्ट सिस्टम संचालनका लागि आफ्नो हैसियत अनुसारको हार्डवेयर राख्ने विषयमा ध्यान केन्द्रीत गर्न सुझाव दिएका छन् । यसरी आफैंले हार्डवेयर राख्दा एउटा ब्रोकर कम्पनीको डेढदेखि २ करोड रुपैयाँसम्म खर्च हुन्छ । 

ती अधिकारीले टिएमएस नेप्सेको सम्पत्ति भएको भन्दै धितोपत्र बोर्डमा लाइसेन्स पाउँ भन्दै निवेदन हाल्नुको कुनै तुक नरहेको समेत दाबी गरे । ‘नेप्से पनि स्वायत्त संस्था हो । बोर्डले बनाउने कानून कार्यान्वयन गर्ने निकाय नेप्से हो । टिएमएस हाम्रो सम्पत्ति हो, यसलाई दुरुपयोग हुन दिंदैनौ ।’ ती अधिकारीले थपे–‘बोर्ड अध्यक्ष पनि यो कुरामा कन्भिन्स हुनुहुन्छ ।’ 

ती अधिकारीले ब्रोकरहरुले आफ्नो क्षमता अनुसार अर्डर म्यानेजमेन्ट सिस्टम व्यक्तिगत रुपमा बनाउनतर्फ लागे नेप्सेले सबैलाई सहयोग गर्ने वचन समेत दिए ।