– अर्जुन तिमिल्सिना

काठमाण्डौ । नेप्से प्रमुख चन्द्रसिंह साउदले ब्रोकरहरुले नयाँ टीएमएस ल्याउने कुरा ‘अपत्यारिलो’ रहेको बताएका छन्। 

ब्रोकरहरुले आगामी साउन १ गतेबाट आफ्नै नयाँ टीएमएसबाट कारोबार गर्ने बताइरहेको बेला नेप्से प्रमुख साउदको यस्तो भनाइ आएको हो । ‘५० वटा ब्रोकरले एउटै सिस्टमबाट कारोबार गर्ने गरी छुट्टै टीएमएस दिन सकिन्न’, बिजशालासँग साउदले भने, ‘आफैँ टीएमएस ल्याउने हो भने किन चाहियो नेप्से अनि किन चाहियो धितोपत्र बोर्ड र सरकार ?’

साउदले ब्रोकरहरुले आफ्नै टीएमएस ल्याउने सम्भावना नरहेको दाबी गरे। ‘किनकि यसो भएमा ब्रोकरहरुबीच नै हानथाप हुन्छ’, उनले भने, ‘ब्रोकरहरुले छुट्टै एपीआई लिएर कारोबार गर्ने हो भने हामीलाई भन्नु केही छैन।’

साउदले फन्ड सेटलमेन्टका लागि वर्किङ क्यापिटल राख्न नसक्ने ब्रोकहरुले कुनै पनि हालतमा टीएमएस ल्याउन नसक्ने ठोकुवा गरे। ‘कुनै बेला अहिलेको टीएमएस पनि आवश्यक छैन भन्थे’, उनले भने, ‘अहिले यस्तो महामारीका बेला सेयर बजारका लागि यो टीएमएस बरदान साबित भएको छ।’

कोरोनाले दैनिक समस्या बढ्दै गएको र दिनप्रतिदिन सेयर बजारमा आमसर्वसाधरणको उपस्थिति बढेको बेलामा नयाँ प्रविधि आवश्यक रहेको ब्रोकरहरुले बताउँदै आएका छन्।

ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष सन्तोष मैनालीले ब्रोकरहरुले ल्याउने भनिएको नयाँ टीएमएसको प्रक्रिया अगाडि बढिसकेको बताए। ‘परिस्थित अनुकूल बन्दै गए आगामी साउन १ गतेबाटै ब्रोकरहरुको आफ्नै टीएमएस सञ्चालनमा आउनेछ’, उनले भने। 

नेपाल धितोपत्र बोर्ड भने ब्रोकरलाई नयाँ टीएमएस ल्याउन दिने पक्षमा देखिन्छ । केही समयअघि धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले त्यस्तो आशयसहितको अभिव्यक्ति एउटा सार्वजनिक कार्यक्रममा राखेका थिए।