– भक्तराज रसाइली 

काठमाण्डौ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले स्टक ब्रोकर कम्पनी (धितोपत्र दलाल व्यवसायी) लाई आफ्नै ई–मेल सर्भर बनाउन निर्देशन दिएको छ।

लगानीकर्तालाई ट्रेडिङ मेनेजमेन्ट सिस्टम (टीएमएस) को अनलाइन लगइन र पासवर्ड वितरण गर्न अबदेखि ब्रोकर कम्पनीहरुले नै ई–मेल सर्भर बनाउनुपर्ने भएको हो। एक सातादेखि टीएमएसको लगइन र पासवर्ड लगानीकर्ताहरुले पाइरहेका छैनन्। जसका कारण उनीहरुले अनलाइन कारोबार प्रणालीमार्फत सेयर खरिदबिक्री गर्नबाट वञ्चित हुनुपरिरहेको छ।

अनलाइन तथा अफलाइनमार्फत लगानीकर्ताले टीएमएसको लगइन र पासवर्डका लागि ब्रोकर कम्पनीलाई आग्रह गरेपछि सम्बन्धित ब्रोकर कम्पनीले सो आग्रह नेप्सेलाई पठाउने व्यवस्था थियो। यसपछि नेप्सेको ई–मेल सर्भरमार्फत लगानीकर्तालाई लगइन पासवर्ड दिइँदै आएकोमा अबदेखि भने सम्बन्धित ब्रोकर कम्पनीले नै लगानीकर्तालाई टीएमएसको लगइन र पासवर्ड दिनुपर्ने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए। दैनिक १० हजारभन्दा बढी नेप्सेको सर्भरले ई–मेलको रिप्लाई दिने क्षमता नभएको र अब भने ब्रोकरले नै नेप्सेले दिँदै आएको रेस्पोन्स दिनुपर्ने पराजुलीले बताए।
स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले हिजो बुधबार नेप्सेबाट ब्रोकर कम्पनीहरुले स्वयं ई–मेलको रेस्पोन्स गर्दै टीएमएसको लगइन र पासर्ड दिनुपर्ने निर्देशन आइसकेको बताए। ब्रोकर कम्पनीहरुले पनि त्यसका लागि आफ्नै ई–मेल सर्भर तयार गर्ने काम भइरहेको उनले जानकारी दिए। 

हाल एक सातादेखि टीएमएसको लगइन र पासवर्ड वितरणमा देखिएको समस्याको हल १–२ दिनमै हुने अध्यक्ष मैनाली जिकिर गर्छन्।