काठमाण्डौ । लगभग कोमामा पुगेको बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स वितरण गर्ने विषय ब्यूँतिएको छ । 

पूँजीबजारको नियामक नेपाल धितोपत्र बोर्डले बैंकका सहायक कम्पनीलाई समेत ब्रोकर लाइसेन्स दिने विषयलाई ब्यूँताएको हो । 

केही महिनाअघि चर्चाको उत्कर्षमा पुगेर केही सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स दिने तयारी भइरहँदा यो विषय एकाएक सेलाएको थियो । विभिन्न स्वार्थ समूहको चलखेलका कारण लगभग कोमामा पुगेको यो विषयलाई धितोपत्र बोर्डको संचालक समितिले नै ब्यूँताएका कारण सकारात्मक परिणाम निस्किने आशा गर्न सकिन्छ । 

‘बैंकका सहायक कम्पनीलाई समेत ब्रोकर लाइसेन्स दिएर पूँजीबजारलाई बिस्तार गर्नुपर्ने र लगानीकर्ताहरुले सर्वसुलभ ब्रोकरेज सेवा पाउने वातावरण बनाउनुपर्ने विषयमा हामी प्रतिबद्ध छौं ।’ धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बिजशालासँग भने–‘यहीकारण अब बैंकका सहायक कम्पनीलाई समेत ब्रोकर लाइसेन्स दिनुपर्ने हाम्रो धारणा छ । यही सोंचका साथ यो विषयमा फेरि छलफल थालिएको छ ।’ 

बोर्ड अध्यक्ष ढुंगानाले बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स नदिनुपर्ने कुनै कारण नै नरहेको तर्क गर्दै अहिले सुरु भएको छलफल छिट्टै निश्कर्षमा पुग्ने दाबी गरे । 

अध्यक्ष ढुंगानाका अनुसार बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने विषयसँगै केन्द्रीय र प्रदेश स्तरमा समेत ब्रोकरहरु थप्ने विषयलाई समेत छलफलमा समावेश गरिएको छ । 

‘अब ब्रोकरको संख्या समेत थप हुन्छ । कारोबारको दायरा बढेर लगानीकर्ताको संख्या समेत अनपेक्षित बढिरहँदा अब ५० वटा ब्रोकरले मात्र हुँदैन भन्ने हाम्रो निश्कर्ष हो ।’ बोर्ड अध्यक्ष ढुंगानाले भने–‘अब नेप्सेले पठाएको पुरानो फाइल तथा सिफारिस समेत झिकेर त्यसमाथि समेत छलफल थालेका छौं । केन्द्रीय र प्रदेश स्तरमा समेत ब्रोकरको संख्या थपिन्छ ।’ 

नेप्सेले एकवर्षअघि नै धितोपत्र बोर्डलाई हालका ५० वटा ब्रोकर अपुग भएको भन्दै केन्द्रीय स्तरमै थप ६० वटालाई समेत लाइसेन्स दिई ११० पुर्याउनुपर्ने तर्क, कारणसहितको सिफारिस गरेको थियो । प्रतिवेदनसहितको सिफारिसलाई बोर्डले लामो समयदेखि थन्काएकोमा सो फाइल समेत झिकेर छलफल थालिएको हो ।

बजारको फ्रन्टलाइन रेगुलेटर नेप्सेले कार्यान्वयनमा ल्याएको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीलाई प्रभावकारी बनाउन ब्रोकरहरुले प्रभावकारी भूमिका नखेलेका, आफूलाई चाहिने रिसोर्सेजहरुमा समेत लगानी नगरेका लगायतका विषयबाट पछिल्लो समेत नेप्से रुष्ट छ । कारोबार बढेको समयमा कमिसनको रुपमा करोडौं कमाए पनि लगानीमा भने ब्रोकरले कञ्जुस्याईँ गरेका र यो विषयमा पटक पटक ताकेता गर्दा समेत अटेर गरिएकोले थप ब्रोकरलाई लाइसेन्स दिई सेवालाई प्रतिस्पर्धी बनाउनुपर्नेमा नेप्से व्यवस्थापन र बोर्ड समेत सहमत देखिएको छ । नेप्सेको बोर्डले नै यो विषयलाई अगाडि बढाउने जोड गरेको र अर्थमन्त्रालयलाई समेत थप ब्रोकरलाई लाइसेन्स दिने विषयमा सकारात्मक बनाउने काम नेप्से नेतृत्वले गरेका कारण समेत बोर्डले थन्किएका फाइल निकालेर छलफल थालेको कतिपयको विश्लेषण छ ।  

केन्द्रीय स्तरबाहेक प्रदेश स्तरमा समेत ब्रोकर लाइसेन्स दिने विषयमा समेत छलफल थालिएको अध्यक्ष ढुंगानाले जानकारी दिए । यी सबै विषयमा निकै चाँडै निर्णय हुनेमा उनी आशावादी देखिएका छन् । 

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले ब्रोकरको संख्या थप्नुपर्नेमा आफूले बारम्बार जोड गर्दै आएको उल्लेख गर्दै यो विषय चाँडै टुंगिने आशा व्यक्त गरे । ‘थप कम्पनीलाई ब्रोकर लाइसेन्स नदिनुपर्ने कुनै कारण नै छैन ।’ उनले भने–‘लगानीकर्ताले सहज र सर्वसुलभ सेवा पाउनका लागि पनि अब थप ब्रोकरलाई स्वीकृति दिनुपर्छ । बोर्ड यो विषयमा सकारात्मक पाएको छु ।’