काठमाण्डौ । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको अध्यक्षमा सन्तोष मैनाली सर्वसम्मत रुपमा चयन भएका छन्।

एसोसिएसनको आज शुक्रबार सम्पन्न २६औं साधारणसभाले मैनालीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। मैनाली स्टक ब्रोकर नम्बर ३६ सेक्युर्ड सेक्युरिटिजका कार्यकारी अध्यक्ष पनि हुन्। 

नवनियुक्त अध्यक्ष मैनालीको कार्यसमितिमा उपाध्यक्ष धर्मराज सापकोटा, महासचिव गुणनिधि भुसाल, कोषाध्यक्ष भक्तिराम घिमिरे र सचिवमा रमनदेव पन्त चयन भएका छन् । सदस्यहरुमा भने रवीन्द्र प्रधान, मित्रलाल श्रेष्ठ, फणिन्द्र ढकाल, सुयोग अधिकारी र मदन पौड्याल रहेका छन्। 

एसोसिएसनमा मैनाली नेतृत्वको कार्यकाल २ वर्षको हुनेछ।

मैनालीसँग यसअघि पनि स्टक ब्रोकर्स एसोसिएसनका पूर्वअध्यक्षहरु प्रियराज रेग्मी र नरेन्द्र सिजापतीको कार्यसमितिमा महासचिव र सदस्यको भूमिका निर्वाह गरेको अनुभव छ। कार्यसमितिमा नरहे पनि पुँजीबजारसँग सम्बन्धित विविध विषय र इस्यूमा अध्ययन तथा विश्लेषणका लागि मैनाली सक्रिय रहँदै आएका छन्।