काठमाण्डौ । मंगलबार बजारमा उछाल आएको छ । बजार मापक सूचक नेप्से ३७.९३ अंकले बढेर १३३६.६६ को विन्दूमा पुगेको हो । 

बजारका लागि अनुकुल वातावरण बनिरहेको बेला अर्थ समितिबाट गठित रामकुमारी झाँक्री नेतृत्वको उपसमितिले एकवर्षको प्रतिक्षापछि बैंकका सहायक कम्पनीले ब्रोकर पाउने गरी प्रतिवेदन तयार गरेको खबरले मंगलबारको बजारमा उत्साह थपेको हो । 

झाँक्री नेतृत्वको उपसमितिले पूँजीबजार तथा मुद्रा बजारका सुधारका लागि निकै राम्रा व्यवस्थाहरु गर्न सिफारिस गरेसँगै बजार अझै सुधारिने आशामा लगानीकर्ताहरुले खरीदारीमा ध्यान दिएका हुन् । 

बजार यसअघि पनि बुलिस गतिमै कुदिरहेको थियो । बैंकहरुको ब्याजदर क्रमशः घटिरहेको समयमा लगानीयोग्य रकम समेत प्रशस्त रहँदा यसले सेयरबजारलाई लाभ भइरहेको छ । 

कोरोना भाइरसको प्रकोप र लकडाउनका कारण अन्य सेक्टर ब्यूँतिन नसकिरहेको बेला लगानीकर्ताहरुले आफ्नो पैसा बजारमा खन्याउन थालेका छन् । यसले समेत बजारमा मागको सिर्जना गरिदिएको छ । 

यस्तै, पछिल्लो समय राज्यका हरेक निकायले पूँजीबजारलाई गम्भीर रुपमा हेरिरहेका छन् । बजारको नियामक धितोपत्र बोर्डले बजार सुधारका लागि लकडाउनको अवधिमा निकै धेरै काम गर्यो भने नेपाल राष्टबैंकले मौद्रिक नीतिबाट सेयर बजारका लागि राहात हुने व्यवस्था ल्याउने सार्वजनिक प्रतिबद्धता व्यक्त गरिसकेको छ । साउन पहिलो साता सार्वजनिक हुनसक्ने मौद्रिक नीतिमा सेयर धितो कर्जाको सीमा ७५ प्रतिशतसम्म पुग्नसक्ने व्यवस्था हुँदैछ । यसले समेत लगानीकर्तालाई उत्साहित बनाएको छ । 

समग्रमा हेर्दा अधिकांश परिस्थिति तथा वातावरण लगानीकर्ताको मनोबल उकास्ने खालका छन् । यसकारण समेत बजारमा सकारात्मक प्रभाव परिरहेको हो । 

यो दिन पनि लगानीकर्ताले राम्रा र बलिया कम्पनीको सेयर खरीदारीमै ध्यान दिए, जसका कारण सेन्सेटिभ इण्डेक्स ६.७१ अंकले बढ्यो । समग्र कारोबार मापक फ्लोट इण्डेक्समा २.५२ प्रतिशतको बढोत्तरी भयो । 

आज नेप्सेका १२ वटै उपसमूहमा हरियाली छाएको छ ।

निर्जीवन बीमा समूहमा ३६५.४६ अंकको उछाल आएको यो दिन जीवन बीमा समूहमा १९८.३८ अंकको बढोत्तरी भयो । आज बैंकिङ समूह २५.८३ अंक, व्यापार समूह ३४.६१ अंक, होटेल्स समूह १२७.१ अंक, विकास बैंक समूह ३४.८१ अंक, जलविद्युत समूह २६.४९ अंक, वित्त समूह १९.०४ अंक, उत्पादन तथा प्रशोधन समूह ४१.८३ अंक, अन्य समूह २७.०५ अंक, लघुवित्त समूह ७६.५५ अंक र म्युचुअल फन्ड समूह ०.१६ अंकले बढेका छन् । 

धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये १७८ कम्पनीका २८ लाख ८३ हजार ९४८ कित्ता सेयर १ अर्ब २१ करोड २४ लाख २६ हजार २६७ रुपैयाँमा कारोबार भएको छ।

यो दिन नेपाल पुनर्बीमा कम्पनी र नेपाल लाइफ इन्स्योरेन्सको धेरै सेयर कारोबार भयो । पुनर्बीमा कम्पनीको ९ करोड १२ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड ६० लाख रुपैयाँ बढीको कारोबार भयो ।

यसैगरी हिमालयन डिस्टिलरीको ५ करोड ८६ लाख रुपैयाँ, एनएमबी बैंकको ५ करोड ९ लाख रुपैयाँ, छिमेक लघुवित्तको ४ करोड २४ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ३ करोड ७१ लाख रुपैयाँ, शिवम सिमेन्टको ३ करोड ६८ लाख रुपैयाँ, नेको इन्स्योरेन्सको ३ करोड ५४ लाख रुपैयाँ, नबिल बैंकको ३ करोड ११ लाख रुपैयाँ र प्राइम कमर्सियल बैंकको २ करोड ६० लाख रुपैयाँ बढीको कारोबार भयो ।

धेरै कमाउने, धेरै गुमाउने
यो दिन कारोबारमा १७८ कम्पनीमध्ये १९ कम्पनीको सेयरमूल्य मात्र घटेको छ भने १९ वटा कम्पनीको सेयरमूल्यमा उछालसँगै पोजेटिभ सर्किट लागेको छ ।

यो दिन मन्जुश्री फाइनान्स, नेपाल पुनर्बीमा कम्पनी, नेपाल सेवा लघुवित्त, ओरियन्टल होटेल्स, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो । त्यस्तै हिमालयन जनरल इन्स्योरेन्स, सूर्योदय लघुवित्त, सामुदायिक लघुवित्त, सिद्धार्थ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, आईएमई जनरल इन्स्यारेन्स, मिथिला लघुवित्त, सोल्टी होटल, युनाइटेड इन्स्योरेन्स, फस्र्ट माइक्रोफाइनान्स, गुहेश्वरी मर्चेन्ट, सिभिल लघुवित्त र मेरो माइक्रोफाइनान्स कम्पनीका सेयरमूल्य १० प्रतिशतका हाराहारीमा वृद्धि भए ।

यो दिन खानीखोला हाइड्रोपावर र ग्लोबल आईएमई लघुवित्तको सेयरमूल्य ४ प्रतिशतको हाराहारीमा घट्यो ।