काठमाण्डौ । आज नेपाल धितोपत्र बोर्डमा ३ वटा लगानीकर्ता संघसंगठनका नेताहरुले ३ बुँदे मागपत्र पेश गरेका छन् ।

आज दिउँसो ४ बजे नेपाल धितोपत्र बोर्डस्थित कार्यालयमा नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ र नेपाल पूँजीबजार लगानीकर्ता संघका शीर्ष नेताहरुले धितोपत्र बोर्डलाई ३ बुँदे माग गरेका हुन् ।

धितोपत्र बोर्डमा ३ बुँदे मागसहित गएका शीर्ष नेताहरुले अनलाइन कारोबार प्रणाली, ब्रोकर कमिसन र डीपी फीका विषयमा दवाब दिएका छन् ।

बैठकमा सहभागीमध्ये नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष तुलसीराम ढकालले नेप्सेको टीएमएसमा भएको प्राविधिक गडबडीले सेयर कारोबार प्रभावित भइरहेको र अनेकन समस्या भोग्नु परेकोबारे जानकारी गराइएको उल्लेख गर्दै दैनिक कारोबार रकम करिब ४ अर्ब रुपैयाँ हुँदा अब ब्रोकर कमिसन घटाइनुपर्ने, प्रविधिले ब्रोकर लागत घटेको र जनशक्ति खर्च पनि कम भएकाले ब्रोकर कमिसन न्यूनतम ०.२५ प्रतिशत हुनुपर्ने अडान राखेको उपाध्यक्ष ढकालले बताए । 

यसैगरी, सेयर कारोबारमा डीपी फी रु.२५ पनि समयानुकुल घटाइनुपर्ने भन्दै माग राखिएको ढकालले बताए । ३ बुँदे मागप्रति बोर्ड अध्यक्ष निकै सकारात्मक र चाँडै लगानीकर्ताहरुलाई खुशीको खबर सुनाउन आतुर रहेको ढुंगानालाई उद्धृत गर्दै ढकालले भने ।

आज ३ बुँदे मागसहित नेपाल इन्भेष्टर्स फोरमका तर्फबाट अध्यक्ष छोटेलाल रौनियार, उपाध्यक्ष तुलसीराम ढकाल र सेयर लगानीकर्ता संघका तर्फबाट अध्यक्ष उत्तम अर्याल र उपाध्यक्ष ताराप्रसाद फुल्लेल अनि नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेलको सहभागिता थियो । बैठकमा बोर्डका तर्फबाट अध्यक्ष डा.भीष्मराज ढुंगाना र कार्यकारी निर्देशक निरज गिरी सहभागी थिए ।