काठमाण्डौ । स्टक ब्रोकर कम्पनीहरुलाई सेटलमेन्ट गर्न फण्ड रकम अपुग भएपछि हाहाकार मच्चिएको छ । 

बजारबाट सेयर खरिद गरेको रकम कयौं लगानीकर्ताहरुबाट नउठेपछि स्टक ब्रोकर कम्पनीहरुलाई सेटलमेन्ट फण्डको हाहाकार भएको हो ।

पछिल्लो समय हाइड्रोपावर र वित्त कम्पनीहरुको सेयरमूल्य उचालिएसँगै बढ्दो क्रममा रहेको नेप्से परिसूचकमा धितोपत्र बजारबाट सेयर खरिद गरेको रकम हजारौं लगानीकर्ताहरुले भुक्तानी नगरेपछि करोडौं रकम उधारो बजारमा छरिएको हो । 

नाम चलेकै र टप ब्रोकर कम्पनीहरुकै हजारौं लगानीकर्ताहरुले राफसाफ हुने तेस्रो दिनसम्म भुक्तानी नगर्ने परिपाटी बढेर २–३ हप्तासम्म सेयर किनेबापतको रकम उठाउन हम्मेहम्मे परेको स्टक ब्रोकरहरुको भनाइ छ । 

एक ब्रोकरका अनुसार बजारबाट औसतमा १ हजार जनाले सेयर खरिदबापतको रकम भुक्तानी प्राप्त नभएकाले हिजोआज फण्ड सेटलमेन्ट गर्नै धौधौ परेको छ । यस विषयमा हामीले अन्य ब्रोकर कम्पनी स्रोतलाई समेत जिज्ञासा राख्दा बजारबाट पैसा उठाउनकै लागि ४–५ जना नयाँ कर्मचारी नियुक्त गर्नु परिरहेको र उनीहरुको काम नै फोन गरेर ग्राहकसँग पैसा उठाउनु रहेको जिकिर गरे । 

यो साता पनि सेटलमेन्टका लागि ब्रोकर कम्पनीलाई रकम अपुग भई अप्ठ्यारो अवस्था सिर्जना भइरहेको ब्रोकरहरु दाबी गर्छन् । एउटै ब्रोकर कम्पनीबाट औसतमा १ हजार जना लगानीकर्ताले सेयर किन्ने र समयमा भुक्तानी नगर्दा हाल प्रायः ब्रोकरहरुको बजारबाट करोडौं रुपैयाँ रकम उधारो उठ्न बाँकी रहेको बताउँछन् । उधारो पैसा उठाउन सम्पर्क गर्नैका लागि हिजोआज अधिकांश ब्रोकरहरुले काठमाण्डौस्थित मुख्य कार्यालयमा ४–५ जना कर्मचारी नै नियुक्ति गर्नु परिरहेको बताइएको छ ।

किन उधारो गयो त बजारमा करोडौं रकम ?
हाल करिब डेढ लाख अनलाइन कारोबारी छन् । प्रायः ले हाल घरमै बसेर सेयर खरिदबिक्री पनि गर्दै आइरहेका छन् । कारोबारका दौरान न्यूनतम २५ प्रतिशत धरौटी रकम राखी ब्रोकरले त्यसको ४ गुणासम्म सेयर किनबेच गर्ने सुविधा दिइरहेका छन् । सोही सुविधालाई अनलाइन कारोबारीहरुले अधिकतम रकम खरिद गर्ने र राफसाफको समयमा रकम भुक्तानी गर्ने चलन बढ्दै गइरहेको लगानीकर्ताहरु नै बताउँछन् । 

मानौं तपाईँले ब्रोकरलाईं १० लाख रुपैयाँ रकम धरौटी बुझाउनु भयो भने ४० लाख रुपैयाँसम्म सेयर किनबेच गर्न पाउनुहुन्छ । हाल यही सुविधालाई लगानीकर्ताहरुले उपयोग गरिदिंदा बजारमा उधारो रकम बढिरहेको हो । 

लगानीकर्ताको संख्या अत्यधिक बढ्दै जानु र ब्रोकर कम्पनीका सीमित कर्मचारीबाट सेयर खरिद रकमको भुक्तानीका लागि सम्पर्क गर्न नभ्याउँदासमेत लगानीकर्ताहरुले सेयर खरिद गरेको रकम बुझाउँदैनन् । जब ब्रोकरले सम्पर्क गरेर रकम माग गर्दछन् तब लगानीकर्ताहरुले सेयर बेचेरै राफसाफ गर्ने जवाफ दिन्छन् । अर्थात् हिजोआज थोरै रकमबाट समेत ब्रोकरकै पैसामा सेयर लगानी गर्ने चलन बढ्दै जाँदा बजारमा उधारो रकम पनि बढिरहेको पुष्टि हुन्छ ।

स्टक ब्रोकरहरुलाई राफसाफको समयमा आवश्यक फण्ड हिजोआज मात्रै समस्या भएको भने होइन । विगतको लकडाउनले गर्दा धितोपत्र बजार बन्द भएपछि बजारमा करोडौं रकम उठ्न बाँकी रहेको स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले सार्वजनिक अभिव्यक्ति नै दिएका थिए । अहिले पुनः सोही अवस्थाको पुनरागमन हुँदै स्टक ब्रोकरहरुलाई राफसाफ गर्न फण्डको धौधौ परिरहेको छ ।

गत शुक्रबार स्टक ब्रोकर एसोसिएनको प्रेस विज्ञप्ति
नेपाल धितोपत्र बोर्डले गत साउनबाट नै धितोपत्र किनबेच गर्दा अनिवार्य रुपमा विद्युतीय माध्यम प्रयोग गर्नुपर्ने सर्कुलर जारी भएतापनि चेक पनि प्रयोगमा आएको थियो । करिब १ महिनापछि एसोसिएसनले सेयर किनबेचको भुक्तानी अनिवार्य विद्युतीय माध्यमबाट गर्नुपर्ने विज्ञप्ति नै जारी गर्यो ।

पछिल्ला केही दिनमा स्टक ब्रोकरहरुलाई राफसाफ गर्न फण्ड जुटाउन मुश्किल परेको र बजारबाट उधारो रकम उठाउनकै लागि एसोसिएसनले घुमाउरो पारामा पुनः दोस्रो पल्ट पुरानै आह्वानलाई दोहोर्याएको र उधारो रकम तिर्नू भन्ने आशय छ ।