काठमाण्डौ । साताको चौथो दिन आज बुधबार स्टक ब्रोकर नम्बर ४० क्रिएटिभ सेक्युरिटिजको टीएमएस नचलेका कारण लगानीकर्ताहरुले सेयर किनबेच गर्न समस्या भएको छ।

स्टक ब्रोकर नम्बर ४० का अनलाइन तथा अफलाइन सेयर कारोबारीले करिब डेढ घन्टा सेयर कारोबार गर्न वञ्चित भएका छन्।

क्रिएटिभ सेक्युरिटीजका सञ्चालक रमन पन्तले नेप्सेमा नयाँ इस्यू आएकाले आज ४० नम्बर ब्रोकरबाट सेयर किनबेच नभइरहेको जानकारी दिए।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) स्रोतका अनुसार स्टक ब्रोकर नम्बर ४० को नट्स (नेप्से अनलाइन ट्रेडिङ सिस्टम) र टीएमएस कनेक्सन नहुँदा सेयर किनबेच गर्न नमिलेको हो। दिनहुँ ५० वटा ब्रोकरका टीएमएस नै नट्समा दर्ता हुनुपर्ने तर आज एउटा ४० नम्बर ब्रोकर दर्ता नभएकाले सेयर किनबेचमा समस्या आएको स्रोत बताउँछ। अब भने यो समस्या हल भइसकेको स्रोतको भनाइ छ।

करिब डेढ घन्टा अवरुद्ध भएको स्टक ब्रोकर नम्बर ४० बाट हाल भने सेयर कारोबार गर्न मिलिरहेको लगानीकर्ताहरु बताउँछन्।