काठमाण्डौ । ब्रोकर कमिसन तिहारलगत्तै घट्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. भीष्मराज ढुंगानाले तिहारअघि कोभिड १९ ले बोर्डका कर्मचारी कार्यालयमा उपस्थित हुन असमर्थ भएकाले अब ब्रोकर कमिसन तिहारपछि घट्ने पक्कापक्की भएको दाबी गरेका छन् । 

तिहारपछि ब्रोकर कमिसन घटाउन बोर्डसमक्ष पेश गर्ने उनको भनाइ छ ।

बोर्डका उपकार्यकारी निर्देशक डा. नवराज अधिकारीद्वारा ब्रोकर कमिसन अध्ययन गरेको प्रतिवेदनमा समेत ब्रोकर कमिसन कटौती हुनुपर्ने सिफारिस रहेको बताइएको छ ।

अनलाइन कारोबार प्रणालीले कारोबार र भुक्तानीमा विद्युतीय माध्यम प्रयोग भइरहेको र चर्को ब्रोकर कमिसन तिर्नुपरिरहेको भन्दै लगानीकर्ताका संघसंस्था र आम लगानीकर्ताहरुले आवाज बुलन्द बनाइरहेका छन् ।

पछिल्लो समयमा लगानीकर्ताहरुको संख्यामा बढोत्तरी भएसँगै कारोबार रकमसमेत हिजोआज ४ अर्ब रुपैयाँ औसतमा हुन थालेपछि ब्रोकरहरुको लागत न्यून रहेको तर लगानीकर्ताहरुको लागत भने दिनानुदिन बढिरहेकाले लगानीकर्तालाई बजारमा प्रतिस्पर्धात्मक,स्तरीय र सरल सेवा प्रदान गर्न कारोबार अझ विस्तार गरी बजारको सुधार गर्न पनि ब्रोकर कमिसनमा व्यापक कटौती हुनुपर्ने जानकारहरुको भनाइ छ ।