काठमाण्डौ । निरन्तर ओरालो लागेको ब्याजदरसँगै नेप्सेको अनलाइन प्रणालीले  सेयर कारोबारमा फराकिलो फड्को मारेको छ। कारोबारले फड्को मारे पनि दक्षिण एसियाकै सबैभन्दा बढी नेपालमा ब्रोकर कमिसन तिर्न लगानीकर्ताहरु बाध्य छन्।

यता ब्रोकर कसिमन घटाउने विषयमा निरन्तर आवाज उठिरहे पनि नियामक निकाय नेपाल धितोपत्र बोर्ड भने चुपचाप बसेको छ। 

केही वर्षअघि दैनिक १ अर्ब रुपैयाँ दैनिक कारोबार भइरहँदा हिजोआज दैनिक कारोबार रकम नै ५–६ अर्ब रुपैयाँ सामान्य भइरहेको छ। तर, बजार निरन्तर उकालो लाग्ने तरखर भइरहेको बेला लगानीकर्ताहरुले ब्रोकर कमिसन भने महँगो तिर्नुपर्दा हालको लागतले ढाड सेकिएका कारण ब्रोकर कमिसन घटाउनुपर्ने आवाजहरु बुलन्द बन्दै गइरहेको छ।

लगानीकर्ताको हकहित र बजार सुधारका निम्ति खुलेका लगानीकर्ताका संघसंगठनका नेताहरु चाहिँ हिजोआज ब्रोकर कमिसनका विषयमा के भन्न चाहन्छन् ? बिजशालाले यस विषयमा बुझ्ने प्रयास गरेको छ।

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार अब यही साता नेपाल धितोपत्र बोर्ड जाने तयारी रहेको बताउँछन्। ब्रोकर कमिसन घट्नै पर्ने उनको भनाइ छ। 

ब्रोकर कमिसन कटौती गर्नका निम्ति बोर्डले गठन गरेको कमिटीले प्रतिवेदन तयार पारेको महिनौँ बितिसक्दासमेत बोर्ड अध्यक्षले ब्रोकर कमिसन नघटाएकोमा सबै लगानीकर्ता बोर्ड जाने रौनियारको भनाइ छ। ब्रोकर कमिसन कटौती स्टक ब्रोकरलाई सोध्न व्यर्थ रहेको र बोर्ड अध्यक्षले सीधै निर्णय हुनुपर्ने उनको बुझाइ छ। ‘ब्रोकर कमिसन घटाउन पछिल्लो समय बोर्डको आलटाल भए हामी जुनसुकै निर्णय लिन तयार छौँ’, उनले भने। 

ब्रोकर कमिसन दसैँअघि नै घटाउने बोर्डको प्रतिबद्धता हालसम्म कार्यान्वयन नभएकाले रौनियारले सम्पूर्ण लगानीकर्ताहरुलाई आन्दोलन गर्नुपर्ने संकेत गरेका छन्।

ब्रोकर कमिसन घटाउन बोर्डलाई निरन्तर दबाब दिइरहेको र आन्तरिक गृहकार्यमा रहेको सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल जिकिर गर्छन्। उनी भन्छन्, ‘लगानीकर्ताहरुको पक्षमा ब्रोकर कमिसन ०.२५ प्रतिशत हुनेमा म ढुक्क छु।’

संघका तर्फबाट ब्रोकर कमिसन कटौतीको माग राखी अहिलेसम्म बोर्डसमक्ष १० वटा ज्ञापनपत्र बुझाइसकेको अर्यालले दाबी गरे। उनले भने, ‘यही मंसिर १५ गतेसम्म बोर्डले निर्णय दिने कुरा छ। यदि हामीमाथि धोका भएमा थप प्रक्रिया चाल्नुपर्नेहुन्छ।’

ब्रोकर कमिसन घट्न जरुरी रहेको नेपाल पूँजीबजार लगानीकर्ता संघकी राधा पोखरेलले बताइन्। उनले भनिन्, ‘पूर्ण अनलाइन प्रणाली भएपछि ब्रोकर कमिसन कटौती गर्नुपर्ने ५८ बुँदे सुझावमा समावेश भएको कुरा हो।’

लगानीकर्ताले महँगो कमिसन तिर्नुपर्दा अन्याय भएको पोखरेलले दाबी गरिन्। ‘दसैँको बोनसका रुपमा ब्रोकर कमिसन घटाउने कुरा अहिले धितोपत्र बोर्डले कानमा तेल हालेर बसेको देखियो, यस विषयमा मैले धितोपत्र बोर्डभन्दा माथिल्ला निकायहरुमा समेत पहल गरिरहेकी छु।’