काठमाण्डौ । सेयर कारोबारमा मध्यस्थकर्ताको भूमिका खेलेबापत ब्रोकर कम्पनीहरुले पाउँदै आएको कमिसन तत्काल नघट्ने भएको छ। 

ब्रोकर कमिसन घटाउने गृहकार्य थालिएको भनी अभिव्यक्ति दिएका बजारको नियामक निकाय धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले एक साता नबित्दै आफ्नो बोली फेरेका छन् । 

उनले शुक्रबार साँझ बिजशालासँग कुरा गर्दै ब्रोकर कमिसन तत्काल नघट्ने प्रष्ट पारेका हुन् । 

‘कारोबार रकम बढेर दैनिक २० अर्ब रुपैयाँसम्म हुँदा ब्रोकर कमिसन घटाउनुपर्छ भन्ने लागेको थियो । तर अब अवस्था त्यस्तो छैन ।’ उनले बिजशालासँग भने–‘कारोबार रकम खुम्चिएर ४ अर्बमा सीमित भएको अवस्थामा ब्रोकर कमिसन घटाउने विषय सान्दर्भिक हुन्न जस्तो लागिरहेको छ ।’ 

उनले प्रष्ट रुपमा ब्रोकर कमिसन तत्काल नघट्ने भने बताएका छन् । 

तर, व्यवहारिक ब्रोकर कमिसन कतिसम्म हो भन्ने विषयमा चाहिँ अध्ययन थालिएको बताए । 'सुरु भइसकेको अध्ययन रोकिने भन्ने कुरा चाहिँ हुन्न, यो निश्कर्षमा पुग्छ ।' उनले भने-'तर, तत्काल कमिसन घट्दैन ।'

उनले ब्रोकर कमिसन घटाउनु भन्दा अगाडि बजारको अझ धेरै विकासका लागि सुधारका कामहरु गर्नुपर्नेमा आफ्नो जोड रहेको समेत बताए । 
'आज ६ लाख बढी सक्रिय लगानीकर्ता भइसकेका छन् । यदि यस्ता लगानीकर्ताको संख्यालाई आउँदो १ वर्षसम्म १२ लाख पुर्याउन सकियो भने कारोबार रकम पनि अझ बढ्छ र बजार अझ बिस्तार भई थप अवसरहरु सिर्जना हुनेछन् ।' उनले भने-'कारोबार रकम बढ्यो भने मात्र ब्रोकरहरुको कमिसन समेत घटाउँदा उनीहरुलाई टिक्न सजिलो हुन्छ ।' 

उनले बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स वितरणको प्रक्रिया अगाडि बढाइसकिएको दाबी समेत गरे । योसँगै प्रादेशिक स्तरमा समेत ब्रोकर लाइसेन्स वितरण गरिने उनले जानकारी दिए । अहिले अस्तित्वमा रहेका ब्रोकरहरुलाई आफ्नो सेवा बिस्तारका लागि समेत प्रोत्साहित गरिनेछ । 

अध्यक्ष ढुंगानाले बजार विकास र बिस्तारका यस्तै यस्तै अजेण्डा समेटिएको नीति तथा कार्यक्रम बनिरहेको समेत बताए । उनले शुक्रबार बजारका सरोकारवालासँग अन्तरक्रिया गरिएको र सो क्रममा आएका सुझावहरुलाई समेत समेटेर साउन पहिलो साताभित्र नीति तथा कार्यक्रम सार्वजनिक गरिने समेत जानकारी दिए ।