– अनन्त्य सुन्दर

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को सञ्चालक समिति बैठकले धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली, २०६४ को संशोधन मस्यौदा पारित गरेको अर्थ मन्त्रालय पठाइसकेको छ। उक्त नियमावली मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेपछि कार्यान्वयनमा आउनेछ। 

ब्रोकर लाइसेन्सका लागि ‘ओपन इन्ट्री, ओपन एक्जिट’सहितको पारित उक्त मस्यौदामा तीन प्रकारको ब्रोकर लाइसेन्स वितरण गरिने भनिएको छ।

सेबोनका अध्यक्ष रमेशकुमार हमालले बजार विकास र विस्तारका लागि कोटा प्रणालीबाट आउने सीमित ब्रोकर पर्याप्त नभएकाले बजारको माग र विश्वको विकसित बजारहरुको अध्ययन गरी खुला प्रणालीबाट ब्रोकर सञ्चालनमा ल्याउने व्यवस्थाको प्रस्ताव गरिएको बताउँदै आएका छन्।

खुला प्रणालीबाट सबैको समान पहुँच हुने भनिएको ब्रोकर लाइसेन्स लिनेमा अहिले बजारका सक्रिय लगानीकर्तादेखि अगुवाहरुसम्म होडबाजी चलेको छ। बजारले ‘महाराजा’को ट्याग दिएको दीपेन्द्र अग्रवाल पनि सेयर ब्रोकर लाइसेन्स लिने दौडमा छन्। तर, विगत केही महिनाअघि धितोपत्र ऐनविपरीत कार्य गरेको भन्दै सीआईबीलाई थप अनुसन्धानका लागि गुहारेका अध्यक्ष हमालले अग्रवाललाई ब्रोकर लाइसेन्स देलान् त ? भन्ने अहिले बजारमा चर्चा परिचर्चाको विषय बनेको छ।

‘म एउटा सेयर ब्रोकर लाइसेन्स लिन सोचिरहेको छु ! को–को साथीहरु साथमा आउन चाहनुहुन्छ?’ प्रश्न गर्दै अग्रवालले आफ्नो फेसबुकमा १४० करोड लगानी आवश्यक भएकाले इच्छुकलाई मेसेज गर्न पनि भनेका छन्।

लगानीकर्ताहरु अनशनरत हुँदा छलफलका लागि गठित समितिमा अग्रवालको नाम समावेश गरिएकोमा अध्यक्ष हमाल  रुष्ट बनेका थिए। के अब अध्यक्ष हमालले खुला प्रणालीबाट अग्रवाललाई ब्रोकर लाइसेन्स देलान् त ? भन्ने प्रश्नको उत्तर अहिले बजारले खोजिरहेको छ।

सीआईबीसमक्ष दीपेन्द्र अग्रवालद्वारा स्थापित गोल्डम्यान इन्भेस्टमेन्ट कम्पनीका कोही पनि लगानीकर्ताहरु आफ्नो गुनासोसहित नपुगेकाले उनलाई आफूले सोचेअनुरुप कारबाही गर्न भने अध्यक्ष हमाल असफल भइसकेको अवस्था छ।