– अनन्त्य सुन्दर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीति पेस गरेका छन्। गभर्नर अधिकारीले यो पेस गरेको तेस्रो मौद्रिक नीति हो।

मौद्रिक नीति समग्रमा केही खुकुलो र सकारात्मक आएको ब्रोकर सञ्चालकहरु बताउँछन्।

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष एवं सेक्युर्ड सेक्युरिटिजका सञ्चालक सन्तोष मैनाली चालु आर्थिक वर्षको मौद्रिक नीति सकारात्मक आउनुका साथै ब्रोकरहरुले दिएको सुझाव सम्बोधन भएको बताए। ‘मर्जरमा जाने कम्पनीहरुको कारोबार रोकिने, ब्रोकरमार्फत मार्जिन लेन्डिङ व्यवस्थित गरिनेजस्ता हामीले दिएका सुझावहरु मौद्रिक नीतिमा सम्बोधन भएका छन्’, मैनाली भन्छन्, ‘तर, ४–१२ को सेयर धितो कर्जाको सीमा अपेक्षित सम्बोधन हुन् सकेन। त्यसका साथै भारित औसत दर पनि २५ लाखको मात्र १०० प्रतिशत कायम भएको छ। तर, समग्रमा मौद्रिक नीति भने सेयर बजारको लागि सकारात्मक नै छ।’

कोहिनुर सेक्युरिटिज (ब्रोकर नं. ३५) का सञ्चालक भरत रानाभाटले चालु आर्थिक वर्षको मौद्रिक नीति समग्र बजारका लागि अपेक्षित र सकारात्मक आएको बताए। ‘मौद्रिक नीतिले समग्र पुँजीबजारलाई सकारात्मक रुपमा सम्बोधन गरेको छ’, रानाभाट भन्छन्, ‘सेयर धितो कर्जा, मर्जरमा जाने कम्पनीहरुको सेयर कारोबार रोक्का लगायतका विषयहरु नीतिमा समेटिएको छ। त्यसका साथै २५ लाख रुपैयाँ सम्मको भारित औसत दर १०० प्रतिशत कायम गरिएसँगै साना लगानीकर्तालाई प्रोत्साहित गर्न खोजिएको देखिन्छ।’

भिजन सेक्युरिटिज (ब्रोकर नं. ३४) का सञ्चालक राजकुमार तिम्सिना लगानीकर्ताहरुमाझ मौद्रिक नीति कस्तो आउला भन्ने डर र त्रास भएको अवस्थामा समग्र पुँजी बजारको लागि नीति सकारात्मक नै आएको बताउँछन्। ‘४ करोडको सीमा हटेर १२ करोड कायम भएको छ’, तिम्सिना भन्छन्, ‘यो व्यवस्थाले मिडल क्लासका सेयर कारोबारीहरुलाई राहत दिने देखिन्छ।’

मर्जरमा कारोबार नरोकिने, ऋणपत्रलाई सीडी रेसियो काउन्ट गर्दा निक्षेपमा काउन्ट गर्न पाउनेजस्ता व्यवस्थाहरु पनि सकारात्मक रहेको तिम्सिना बताउँछन्। ‘समग्रमा बजारका लागि मौद्रिक नीति नकारात्मक नआएकोले सकारात्मक नै आएको छ’, उनले भने।   

‘भारित औसत दर २५ लाखको १०० प्रतिशत कायम गरिएकाले साना लगानीकर्तालाई प्रोत्साहन गरिएको देखिन्छ’, तिम्सिना भन्छन्, ‘त्यसका साथै मार्जिन लेन्डिङको विषय पनि समेटिएको छ। तर, मार्जिन लेन्डिंगलाई थप व्यवस्थित गरी सहजीकरण गर्न उत्तिकै आवश्यक छ।’

कालिका सेक्युरिटिज (ब्रोकर नं. ४६) का सञ्चालक नरेन्द्र सिजापतिले मौद्रिक नीतिमा सेयर बजार सम्बन्धित विद्यमान भएको नियमभन्दा केही खुकुलो भएको बताए। ‘सेयर धितो कर्जाको ४ करोडको सीमा हटेको छ। त्यस्तै २५ लाख रुपैयाँसम्मको भारित औसत दर १०० प्रतिशत कायम गरिएको छ’, सिजापति भन्छन्, ‘बैंक वित्तीय संस्थाको मर्जरसम्बन्धी राष्ट्र बैंकमा भएको व्यवस्थाको अधिकार धितोपत्र बोर्डलाई दिएको छ। त्यसैले समग्रमा चालु आर्थिक वर्षको मौद्रिक नीति सेयर बजार सम्बन्धित नियमहरुमा केही खुकुलो आएको छ।’