भक्तपुर । आन्तरिक राजश्व कार्यालय भक्तपुरले बुधबार उत्कृष्ट तीन करदाता र उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ।

राष्ट्रिय कर दिवस–२०७९ को अवसरमा संघले आर्थिक वर्ष २०७७÷०७८ मा आय विवरण पेस गरी धेरै कर तिर्ने स्वास्थ्य सेवा, उद्योग र व्यापार क्षेत्रका तीन करदाता संस्थाका सञ्चालकलाई सम्मान गरेको हो। उक्त आर्थिक वर्षमा आन्तरिक राजश्व कार्यालय भक्तपुरमा धेरै कर तिर्नेमा स्वास्थ्य सेवातर्फ तारा हेल्थ केयर सेन्टर प्रालि, उद्योगतर्फ समानान्तर कंक्रिट उद्योग प्रालि र व्यापारतर्फ जीएच मेडिहेल्थ कन्सर्न प्रालि रहेका छन्। 

तारा हेल्थ केयर सेन्टर प्रालिले ७ करोड ११ लाख १३ हजार १४८ रुपैयाँ, समानान्तर कंक्रिट उद्योग प्रालिले २ करोड १२ लाख ४६ हजार २८ रुपैयाँ र जीएच मेडिहेल्थ कन्सर्न प्रालिले १ करोड ५६ लाख ५५ हजार ५७ रुपैयाँ आयकर दाखिला गरेको आन्तरिक राजश्व कार्यालयका कर अधिकृत दिपक खनालले जानकारी दिए। 

धेरै कर तिर्ने ती संस्थाका सञ्चालकहरुलाई कार्यक्रमका प्रमुख अतिथि भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले खादा ओढाएर तथा आन्तरिक राजश्व कार्यालय भक्तपुरका प्रमुख कर अधिकृत ताराप्रसाद भुसालले कदर पत्र प्रदान गरी सम्मान गरिएको हो। 

सोही अवसरमा आन्तरिक राजश्व कार्यालय भक्तपुरका हल्का सवारी चालक रुद्रबहादुर खत्रीलाई पनि उत्कृष्ट कर्मचारीका रुपमा सम्मानित गरिएको थियो। आन्तरिक राजश्व विभागले निर्धारण गरेको मापदण्ड पूरा गरेको आधारमा खत्रीलाई कदरपत्र र नगदसहित उत्कृष्ट कर्मचारीबाट सम्मानित गरिएको आन्तरिक राजश्व कार्यालय भक्तपुरले जनाएको छ।