वासिंगटन डिसी । आईआरएफ(इन्टरनेसनल रोड फेडरेसन)को आयोजनामा अमेरिकाको राजधानी वासिङ्गटन डिसीमा ‘रोड सेफ्टी अडिट’ तालिम सम्पन्न भएको छ । सो तालिममार्फत नेपालका दुुई प्रशिक्षक समेत रोड सेफ्टी अडिटर बनेका छन् । गत अगस्ट २९ देखि ३१ तारिखसम्म सो तालिम भएको थियो।

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) का महासचिव गोविन्द भट्टराई तथा रोड सेफ्टी फोरम नेपालका उपाध्यक्ष आशिष गजुरेलले सो तालिम पूूरा गरी रोड सेफ्टी अडिटर बनेका हुन् ।

सडक सुरक्षा आज संसारकै जल्दोबल्दो एजेन्डा हो र त्यसमा सरकार, जनसंगठन, विकास एजेन्सी तथा कल्याणकारी संस्थाहरु समेत सक्रिय छन् । संयुक्त राष्ट्रसंघले समेत सन् २०११–२० लाई रोड सेफ्टी दशक घोषणा गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

नेपालमा समेत सडक दुर्घटना एउटा प्रमुख समस्याको रुपमा देखिएको छ ।

यसको निराकरणका लागि विभिन्न राजनीतिक, नीतिगत, व्यवस्थापकीय, प्राविधिक तथा जनचेतनामूलक कार्यक्रम विभिन्न संघ संगठनहरुले सञ्चालन गरिरहेका छन् । नेपाल सरकार र त्यसका निकाय समेत यसमा संवेदनशील छन् । यद्यपि सडक दुर्घटना बढ्दो छ, जुन चिन्ताको विषय हो ।

सडक सुरक्षाका विभिन्न आयामहरु छन् र तिनको समुचित र समन्वयकारी भूमिकाबाट मात्र सडक सुरक्षा सम्भव देखिन्छ ।

रोड सेफ्टी अडिट एउटा महत्वपूर्ण टुल हो, जसमार्फत आधुनिक सडक र सवारीको व्यवस्थापन गर्न सकिन्छ । जुन नेपालमा अहिलेसम्म प्रचलनमा आइसकेको छैन । जसलाई नासा लगायतका संघ संस्थाले आईआरएफ लगायतका अन्तर्राष्ट्रिय निकायसँगको सहकार्यमा नेपालमा लागू गर्ने प्रयत्न गरिरहेका छन् ।

तालिमकै सन्दर्भमा भट्टराई र गजुरेलले विश्व बैंकको कार्यालयमा ट्रान्सपोर्ट विज्ञहरुसँग भेटघाट गरी नेपालमा भइरहेका गतिविधि बारेमा समेत छलफल गरेको जानकारी दिएका छन् ।