काठमाण्डौ । अन्ततः रातारातको प्रयासपछि फेरि पनि बामदेवलाई प्रयोग गर्दै केपी शर्मा ओली प्रधानमन्त्रीको कुर्सी जोगाउन सफल बन्ने देखिएको छ । 

सत्तारुढ नेकपाको सचिवालय बैठकअघि नै ओलीले आफ्नो पक्षमा आफूसहित ५ सदस्यलाई तान्न सफल भएका छन् । अर्थात, ९ सदस्यीय नेकपा सचिवालयमा ५ जना ओलीको पक्षमा भएका छन् भने ४ सदस्य मात्र प्रचण्ड नेपाल खेमामा देखिएका छन् । 

योसँगै भैंसेपाटी गठबन्धन भत्काउन ओली सफल देखिएका छन् । 

ओलीको पक्षमा ओलीसहित ईश्वर पोखरेल, विष्णु पौडेल, रामबहादुर थापा बादल पहिलादेखि नै रहँदै आएका थिए । बामदेवलाई ओलीका दूतहरुले रातारात मनाउने सफलता पाएसँगै उनी पनि ओलीको समर्थनमा देखिएका छन् । 

उता, प्रचण्ड समूहमा प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल, अर्का वरिष्ठ नेता झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ मात्र देखिएका छन् । 

कसरी कुरा मिल्यो ? 

विश्वस्त स्रोतका अनुसार बामदेव गौतमलाई आगामी मंसिरसम्ममा प्रधानमन्त्री बनाएर सत्ता हस्तान्तरण गर्ने ओलीको भरपर्दो आश्वासनपछि कुरा मिलेको हो । 

ओलीले बामदेवले रोजेकै क्षेत्र खालि गराई उपनिर्वाचन गराउने र उनलाई निर्वाचित गराई प्रधानमन्त्रीको पद हस्तान्तरण गर्ने आश्वासन दिएका छन् । अघिल्ला कतिपय घटनाक्रमजस्तो धोका नहुने आश्वासन ओलीले दिएपछि गौतमसँग भद्र सहमति कायम भएको हो । 

स्रोतका अनुसार यो पटक होलीले समयसीमा नै तोकेर बामदेवलाई प्रधानमन्त्री बनाउने भनेपछि कुरा मिलेको हो । आफू प्रधानमन्त्री बन्न तयार भएपछि गौतम समेत प्रचण्ड नेपाल क्याम्प छाडेर ओली क्याम्पमा आउन तयार देखिएका छन् । बामदेवलाई ओलीको क्याम्पमा ल्याउने मुख्य भूमिका विष्णु पौडेलले खेलेका दाबी गरिएको छ । 

केही साताअघि मात्र बामदेवलाई राष्टियसभा सदस्यमा मनोनयन गर्न समेत नमानेका ओलीले तिनैलाई प्रधानमन्त्री बनाउने आश्वास दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । कतिपयले यो अवस्थालाई ओलीको बाध्यता भनेका छन् भने कतिपयले भने फेरि पनि बामदेवलाई विगतमा झै भकूण्डो बनाउने कुटिल चालको रुपमा व्याख्या गरेका छन् । यथार्थ के हो भन्ने कुरा सुनिश्चित हुन अबको केही घण्टा नै काफी हुनेछ । 

ओलीका अन्य नयाँ प्रस्ताव
ओलीले सचिवालयको संख्या ९ बाट बढाएर कम्तीमा १७ र बढीमा १९ पुर्याउने प्रस्ताव समेत गर्ने बुझिएको छ । 

तत्काल बामदेवलाई सरकारमा वरिष्ठ उपप्रधानमन्त्रीको रुपमा भित्र्याउने समेत उनले वचन दिइसकेका छन् । 

ओलीले सचिवालयमा ल्याउनुपर्ने नेताहरुको सूचि समेत तयार गरेका बुझिएको छ । जसअनुसार पूर्वएमालेबाट सुवास नेम्वाड, पृथ्वी सुब्वा गुरुड, अष्टलक्ष्मी शाक्य, भीम रावल र युवराज ज्ञवालीको नाम रहेको छ । 

त्यसैगरी पूर्वमाओवादीबाट कृष्णबहादुर महरा, जनार्दन शर्मा, पम्फा भूसाल र बर्षमान पुनको नाम प्रस्ताव गर्ने तयारी गरिएको छ ।