काठमाण्डौ । एमालेभित्र बन्दै गएको सहमति भत्किएको छ । एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पादकहरुसँग छलफल गर्ने क्रममा प्रष्ट रुपमा एमालेभित्र सहमति बन्न नसक्ने संकेत गर्दै माधव नेपाल पक्षविरुद्ध आक्रामक रुपमा प्रस्तुत भए ।

उनले माधव नेपाल पक्षका २७ सांसद विश्वासको मत लिने बैशाख २७ गते संसदमा अनुपस्थित भएर लोकतन्त्रको हुर्मत लिने काम गरेका आरोप लगाए । उनले लोकतन्त्र र प्रणालीको हुर्मत लिने गरी नेपाल पक्षले काम गरेको र आपराधिक र इतिहासमै कलकिंत हुने काम गरेका दाबी गरे । 

'विश्वासको प्रस्ताव ल्याएर नयाँ सरकार बनाउन पनि प्रतिनिधिसभालाई सफल हुन दिइएन । मलाई समर्थन दिनुस् भनेँ, विश्वासको मत मागेँ, विश्वासको मत नदिनका लागि राष्टिय राजनीतिमा फोहोरी र घिनलाग्दो चक्रव्यूह खडा गरियो ।' ओलीले भने-'महाभारतकालीन चक्रव्यूहमा नीति, विधि र युद्धका नियम तोडेर, आचारसंहिता तोकेर, मर्यादाहरु तोडेर, इमान जमान छाडेर, घेराबन्दी गरेर अभिमन्यूको हत्या भएको थियो । यसपल्ट विश्वासको मत नपुगोस् भन्नका लागि दलहरुभित्रै विग्रह, दलहरुको मर्यादा, अनुशासन, लोकतान्त्रिक मूल्य मान्यता पनि छाडेर, दलभित्रैबाट समेत २७ जना मान्छे, गुटगत हिसाबले अनुशासनहीन ढंगले, लोकतान्त्रिक मान्यताविपरीत लागे । सरकार ढाल्न विपक्षीसँग मिलेर सरकार ढाल्ने प्रयासलाई लोकतन्त्रमा के भन्ने ? यी स्वस्थ प्रयास हुन ? लोकतान्त्रिक मूल्यमान्यता अनुसारका हुनसक्छन् ? '

उनले अगाडि भने-'अरु त अरु अन्र्तध्वंश मच्चाउनेदेखि लिएर भित्रैबाट कलकिंत हुने खालका अपराधिक क्रियालकपा गरे सरकार ढाल्न वा विश्वास प्राप्त नहोस् भन्नका लागि ।'

ओलीले सार्वजनिक रुपमै नेपाल पक्षको चर्को आलोचना गरेकै बेला माधवकुमार नेपालले २ बजेअघि आफ्ना २० सांसदले राजीनामा गर्ने जानकारी गराउँदै नेपाली कांगे्रस र माओवादीलाई वैकल्पिक सरकार गठनमा लाग्न वचन दिइसकेका छन् । 

यी घटनाक्रमले एमालेभित्र बन्न थालेको सहमति भत्किएको देखिएको छ ।