– रेखा चन्द

काठमाण्डौ । भदौ महिनाका लागि बैंकको ब्याजदर निर्धारण गर्न नेपाल बैंकर्स संघ (एनबीए) को बैठक भोलि (सोमबार) बस्दैछ। बैठक बिहान बस्नेछ। 

यसअघि साउन २२ गते बसेको एनबीएको बैठकले भदौ महिनामा पनि निक्षेपको ब्याजदर नबढाउने भद्र सहमति गरेर पनि निर्णय नै भने गरेको थिएन। ‘भदौको ब्याजदरका विषयमा निर्णय गर्न भोलि बैठक बस्दैछौँ’, एनबीए अध्यक्ष अनीलकुमार उपाध्यायले भने। 

यसअघिको बैठकपछि बिजशालासँग कुराकानीमा अध्यक्ष उपाध्यायले अहिलेको अवस्थामा व्यक्तिगत निक्षेपको ब्याजदर बढाउँदा साधारण निक्षेपको ब्याजदर तथा लागत बढ्ने पनि बताएका थिए। उनले भदौमा ब्याजदर नबढ्ने संकेत पनि गरेका थिए। 

व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर बढाउँदा पनि बैंकमा निक्षेप नबढने हुँदा बैंकरहरु ब्याजदर भने बढाउने पक्षमा भने देखिएका छैनन्। ‘अघिल्लो बैठकमा बरु संस्थागत मुद्दति निक्षेपको ब्याजदर घटाउने कि भनेर कुरा भएको थियो’, एक बैंकका सीईओले भने। 

राष्ट्र बैंकले व्यक्तिगत मुद्दति निक्षेपभन्दा संस्थागत मुद्दति निक्षेपको ब्याजदर २ प्रतिशतले तल राख्न निर्देशन दिएपछि बैंकहरु संस्थागतको ब्याजदर घटाउने पक्षमा देखिएका छन्। 

संस्थागत मुद्दति निक्षेपको ब्याज घटाउने सम्बन्धमा गत साउन २२ को बैठकमा वाणिज्य बैंकका सीईओहरुबीच भ्रद सहमति भएको थियो। तथापि त्यसको निर्णय भने भोलिका बैठकले गर्नेछ। 

अब बैंकहरुले निर्णयअनुसार भदौ महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गर्नेछन्। अहिले बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर अधिकतममा ११.०३ प्रतिशत दिँदै आएका छन् भने संस्थागतमा १०.०३ प्रतिशत ब्याज दिइरहेका छन्। यस्तै रेमिट्यान्समा १२.०३ प्रतिशत ब्याजदर रहेको छ। 

अब बैंकहरुले संस्थागतमा ९.०३ प्रतिशत ब्याज दिनेगरी नयाँ ब्याजदर सार्वजनिक गर्न सक्ने प्रबल सम्भावना छ।