– रेखा चन्द

काठमाण्डौ । वाणिज्य बैंकहरुले भदौ महिनामा पनि निक्षेपको ब्याजदर नबढाउने भद्र सहमति गरेका छन्। 

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबीए)मा भएको बैठकमा बैंकका सीईओहरुले साउनकै ब्याजदरलाई निरन्तरता दिने भद्र सहमति गरेका छन्। ‘अहिलेको परिस्थितिमा व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर नबढाउने कि भनेर निर्णय गरेका छौँ, त्यसको माइनुट पनि बनाएका छौँ’, एनबीए अध्यक्ष अनीलकुमार उपाध्यायले भने, ‘बढाउनै पर्ने भयो भने साउन महिना सकिन १–२ दिनअगाडि बैठक डाकेर निर्णय गर्छौं। नबढाउने हो भने अहिलेकै माइनुटमा उल्लेखित निर्णयलाई कार्यान्वयन गर्नेछौँ र सोहीअनुसार नयाँ ब्याजदर बैंकहरुले प्रकाशन गर्नेछन्।’ 

उपाध्यायले अहिलेको अवस्थामा व्यक्तिगत निक्षेपको ब्याजदर बढाउँदा लागत बढ्ने पनि बताए। ‘किनकि व्यक्तिगततर्फको ब्याजदर बढाउँदा उता साधारण निक्षेपको पनि ब्याजदर बढ्छ, यसले बैंकहरुको लागत पनि बढ्छ’, उनले भने, ‘त्यसैले संस्थागत मुद्दति निक्षेपको ब्याजदर घटाउने भन्ने विषयमा बैंकहरुबीच सहमति भएको छ।’

भदौमा ब्याजदर नबढ्ने भएपछि व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर अधितममा ११.०३ प्रतिशत नै कायम हुने संकेत अध्यक्ष उपाध्यायले गरेका छन्। 

हाल वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ११.०३ प्रतिशत, संस्थागतमा १०.०३ प्रतिशत र रेमिट्यान्समा १२.०३ प्रतिशत ब्याजदर दिइरहेका छन्। तर, मौद्रिक नीतिपछिको राष्ट्र बैंकको पहिलो सर्कुलरबाट व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपको ब्याजदरमा २ प्रतिशत अन्तर गर्नुपर्ने भनिएको छ। यो हिसाबले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर नबढ्ने हो भने संस्थागत मुद्दति निक्षेपको ब्याजदर ९.०३ प्रतिशतमा झर्नेछ।