काठमाण्डौ । सत्तारुढ दल नेकपाभित्रको विवाद समाधानका लागि पार्टी महासचिव विष्णु पौडेलको नेतृत्वमा गठित ६ सदस्यीय कार्यदलले दिएको प्रतिवेदनमा सुझाइएका विषयको कार्यान्वयन सम्बन्धमा आगामी शनिवार बस्ने पार्टी सचिवालय बैठकले निर्णय गर्ने भएको छ । भदौ १३ गते बस्ने सचिवालय बैठकले सो प्रतिवेदन पारित गर्दै कार्यान्वयनका लागि आवश्यक निर्णय लिने बताइएको छ । 

सो प्रतिवेदनलाई मंगलबार पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल(प्रचण्ड)ले स्वीकार गरी सचिवालयमा लैजाने निर्णय गरेका थिए ।

योसँगै प्रतिवेदनमा सुझाइएका पार्टी विवाद समाधानका उपायको कार्यान्वयनका लागि मार्गप्रशस्त भएको र यसलाई मजबुत रुपमा सचिवालय बैठकले अगाडि बढाउने भएको हो । 

सचिवालय बैठकबाट प्रतिवेदन पारित हुने भएसँगै प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठनको गृहकार्य समेत थालेका छन् । 

स्रोतहरुका अनुसार संभवत भदौ तेश्रो साताभित्र मन्त्रीमण्डल पुनर्गठन गरिनेछ । जसमा प्रधानमन्त्री ओलीले केही मन्त्रीलाई मात्र दोहोर्याउने संभावना छ । प्रचण्डसँगको अनौपचारिक सहमतिअनुसार पुनर्गठित मन्त्रीमण्डलमा अधिकांश नयाँलाई अवसर दिइनेछ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले यो पटक मन्त्रीमण्डल पुनर्गठन गर्दा पार्टीका सबै गुट तथा नेताहरुलाई समेत सकेसम्म चित्त बुझाउने गरी भागबण्डा गर्न खोजेका उनी निकट स्रोतको दाबी छ । अब बन्ने मन्त्रीहरुको मापदण्ड समेत सचिवालयले तोक्ने बताइएको छ ।  

पार्टीभित्र अहिले ओली, प्रचण्ड र माधव नेपाल गुट प्रमुख समूहको रुपमा सक्रिय छ । पौडेल नेतृत्वको कार्यदलले दिएको प्रतिवेदनले पार्टीमा आफूले वर्षौदेखि उठाउँदै आएको एक व्यक्ति एक पद लगायतका मुद्धाहरुलाई सम्बोधन गर्न नसकेको भन्दै असन्तुष्ट माधवकुमार नेपाललाई सरकार पुनर्गठनमा चित्त बुझाउने गरी भाग पुर्याउने ओलीको तयारी रहेको स्रोत दाबी गर्छ । नेपाल गुटबाट को को मन्त्री बन्छन् भन्ने कुरा चाहिँ शनिवारपछि मात्र थाहा हुने नेपाल निकटका एक नेताले जानकारी दिए । 

यस्तै, पार्टीभित्र ठूलो गुट नभए पनि थोरबहुत प्रभाव राख्ने बामदेव गौतम, झलनाथ खनाललाई पनि चित्त बुझाउनुपर्ने चुनौति ओलीसामु रहेको छ ।

बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाई सरकारमा शक्तिशाली मन्त्रालयसहितको उपप्रधानमन्त्री दिइनसक्ने देखिएको छ । तर, गौतमले यसअघि पनि उपप्रधानमन्त्रीमै मात्र आफू नजाने बताइसकेका छन् । उनलाई रिझाएर मन्त्रीमण्डलमा सहभागी गराउनका लागि प्रचण्डले समेत भूमिका खेलिरहेका बताइएको छ । आफूलाई प्रचण्ड र ओली समूहले नै प्रयोग मात्र गरेको, तर अवसर नदिएको ठान्ने गौतम समेत कुनै राम्रो अवसरको खोजीमा छन् । तर, त्यसैका लागि उनी मन्त्रीमण्डलमा सहभागी हुन्छन् या हुँदैनन् भन्ने कुरा पनि शनिवारपछि मात्रै थप प्रष्ट हुने देखिन्छ । 

अर्थमन्त्री को हुन्छ ?
सेयर बजार र समग्र आर्थिक क्षेत्रका लागि चासोको विषय रहेको अबको अर्थमन्त्री को हुन्छ ? डा. युवराज खतिवडा रहन्छन् या रहदैनन् ? भन्ने विषयमा पनि नेताहरुले मुख खोलेका छन् । 

ओली निकटकै एक नेताका अनुसार राष्ट्रियसभा सदस्यमा गौतमलाई मनोनयनको सिफारिस हुने भएपछि डा. खतिवडा मन्त्रीको रुपमा रहने संभावना नै छैन । 

पार्टीभित्रको भागबण्डा समेत मिलाएर अगाडि बढ्नुपर्ने अवस्थामा ओलीले अर्थमन्त्रीको रुपमा डा. खतिवडालाई निरन्तरता दिने संभावना न्यून छ । 

डा. खतिवडा हाल राष्ट्रियसभा सदस्य समेत नरहेको अवस्थामा ६ महिनासम्म मन्त्री बन्न पाउने प्रावधानमा टेकेर अर्थमन्त्री भएका हुन् । बिना सांसद अर्थमन्त्री भएको ६ महिनाको अवधि भदौ २० गते सकिँदैछ । राष्टियसभा सदस्यको पदावधि भदौ २० गते सकिएपछि उनी मन्त्रीबाट स्वतः बाहिरिने जानकार बताउँछन् । यही कुरा बुझेका अर्थमन्त्री डा. खतिवडाले आफू निकटस्थहरुसँग आफू अब मन्त्री नरहने बताइसकेका छन् । उनले विष्णु रिमाललाई प्रयोग गरी प्रधानमन्त्रीको प्रमुख आर्थिक सल्लाहकारका लागि लविङ गरिरहेका छन् । त्यो नपाए आफूलाई अमेरिकाका लागि राजदूत बनाइदिनुपर्ने समेत उनको माग रहेको स्रोतको दाबी छ । 

डा. खतिवडा अर्थमन्त्री हट्ने चर्चासँगै नयाँ अर्थमन्त्रीको विषयमा समेत लेखाजोखा भइरहेको छ । नयाँ अर्थमन्त्रीको रुपमा नेकपा महासचिव विष्णु पौडेलको नाम अग्रपंक्तिमा छ । बामदेव गौतमले चाहे भने उनलाई समेत अर्थमन्त्रालय दिइनसक्छ । 

पौडेल र गौतमपछि मात्रै अर्थमन्त्रीको रुपमा सुरेन्द्र पाण्डेको नाम आउनसक्छ । पाण्डेलाई पछिल्लो समय नेपाल, खनाल र प्रचण्डकै आशिर्वाद रहेको स्रोतहरु बताउँछन् । सेयर बजार तथा निजी क्षेत्रले भने अर्थमन्त्रीको रुपमा पाण्डे दोहोरिएको हेर्न चाहिरहेको छ । उनलाई हालसम्मकै सफल अर्थमन्त्रीमध्येको रुपमा लिइन्छ ।