ठमाण्डौ। भन्सार विभागका नवनियुक्त महानिर्देशक कमल भट्टराईलाई नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भन्सारसम्बन्धी नीतिगत सुझावहरु पेस गरेको छ। 

नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको ७ सदस्यीय प्रतिनिधिमण्डलले नवनियुक्त महानिर्देशक भट्टराईलाई स्वागत गर्दै सुझावहरु पेस गरेको हो।

भेटमा अध्यक्ष थापाले नाडाले स्वच्छ व्यवसायमा विश्वास राख्दै आएको भन्दै भन्सार मूल्यांकनमा देखिएका विभिन्न समस्याहरुबारे छलफल गरेका थिए। उनले नेपाल विश्व व्यापार संगठनको सदस्य भइसकेको अवस्थामा भन्सार मूल्यांकन सन्दर्भसूची नै खारेज गरी भन्सारमा मालवस्तुको यथार्थ घोषणा र सही वर्गीकरण गराई भन्सार मूल्यांकन पद्धतिलाई यथार्थ र कारोबार मूल्यमा आधारित बनाउने व्यवस्थाका लागि आवश्यक पहल गरिदिन आग्रहसमेत गरे।

छलफलमा उपाध्यक्ष राजनबाबु श्रेष्ठले सरकारले गरेको एम्बुलेन्सको वर्गीकरणमा केही परिमार्जन गरिनुपर्ने उल्लेख गर्दै आयातीत सवारीसाधनहरुको भन्सार जाँचपासमा पनि ढिलाई भइरहेकोले त्यसको समाधानका लागि अनुरोध गरे। 

अर्का उपाध्यक्ष सुनिल रिजालले एलसी खोलेर सामान आयात गर्दा परिरहेको समस्याहरुबारे अवगत गराउँदै एउटै वस्तुमा भिन्न–भिन्न भन्सार कार्यालयहरुमा एचएस कोडको परिभाषामा फरक पर्ने गरेको, बे्रक लाइनिङजस्ता अत्यावश्यकीय वस्तुमा पनि सतप्रतिशत नगद मार्जिन राखी एलसी खोल्नुपर्ने नियमले व्यवसायीहरुलाई समस्या परेकोले त्यसको समाधानका लागि पहल गरिदिन अनुरोध गरे। उनले न्यून बिजकीकरण र अनधिकृत आयातबाट हुने समस्याहरुको निराकरणका लागि पनि आग्रह गरे। 

छलफलमा महासचिव सुरेन्द्र उप्रेतीले २०७३ अषार २६ गते भन्सार विभाग र नाडाबीच भएको सम्झौताका बारे जानकारी दिँदै विभागले अनलाइन पेमेन्टलाई मान्यता दिएसँगै नेपाल राष्ट्र बैंकको चेकलाई पनि मान्यता दिने व्यवस्थाका लागि आग्रह गरे। उनले नेपालमा व्याट्री उत्पादनका सम्भावनाहरु बढ्दै गएको क्रममा सबै किसिमका सवारीसाधनमा प्रयोग हुने ब्याट्रीहरुको उत्पादनलाई प्रोत्साहित गर्न त्यसका लागि आवश्यक हुने सबै प्रकारका कच्चा पदार्थहरुमा १ प्रतिशतमात्र भन्सार महशुल लाग्ने व्यवस्थाका लागि अनुरोध गरे। 

छलफलमा महानिर्देशक भट्टराईले भन्सार विभागसँग विगतमा भएको सहमतिमा केही विषय संशोधन गर्नुपरेमा दुवै पक्षको सहमतिमा संशोधन गर्न सकिने बताए। उनले नाडाबाट प्राप्त सुझावहरुका विषयमा आवश्यक पहल गरिने जिकिर गरे।