काठमाण्डौ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले भरतमोहन अधिकारी स्मृति फाउन्डेसनको आर्थिक सहयोगमा २ आर्थिक पत्रकारलाई पुरस्कृत गर्ने भएको छ। 

नाफिजले फाउन्डेसनको सहयोगमा ‘भरतमोहन अधिकारी – नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ र ‘भरतमोहन अधिकारी – नाफिज सहकारी पत्रकारिता पुरस्कार’ प्रदान गर्ने भएको हो।

नाफिजका अध्यक्ष मोदनाथ ढकाल र फाउन्डेसनकी संस्थापक महासचिव लिमा अधिकारीले मंगलबार एक कार्यक्रमका बीच पुरस्कार प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। हस्ताक्षरकर्ता अधिकारी पूर्वअर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीकी पुत्री हुन्। 

नाफिज सक्रिय आर्थिक पत्रकारहरुको छाता संस्था हो। फाउन्डेसनको सहयोगमा नाफिजले आर्थिक तथा सहकारी बिटमा कलम चलाउँदै आएका आर्थिक पत्रकारको वृत्ति विकास, क्षमता विस्तार र असल पत्रकारिता अभ्यासमा प्रोत्साहन पुर्याउने हेतुले पुरस्कार प्रदान गरिने भएको हो। पुरस्कारले स्वस्थ तथा खोजमूलक आर्थिक पत्रकारितालाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

यो वर्षको ‘भरतमोहन अधिकारी – नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ र ‘भरतमोहन अधिकारी – नाफिज सहकारी पत्रकारिता पुरस्कार’ मंसिर २८ गते नाफिजको छैटौँ महासभाको विशेष समारोहमा ५०–५० हजार रुपैयाँको दरले २ जनालाई प्रदान गरिनेछ। पुरस्कार छनोटका लागि दुवै संस्थाको प्रतिनिधित्व रहने गरी ३ सदस्यीय कार्यदल गठन गरिनेछ।

फाउन्डेसन र नाफिजबीच भविष्यमा यस्तै पुरस्कार प्रदान गर्न अक्षय कोष स्थापना गर्ने सहमति पनि भएको छ।

सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा लिमा अधिकारीले भरतमोहन अधिकारीले देशको राजनीतिक, आर्थिक, सामाजिक तथा सहकारी क्षेत्रमा पुर्याउनुभएको अतुलनीय योगदानलाई सधैं चिर स्थायित्व दिन तथा नेपालको आर्थिक तथा सहकारी पत्रकारितामा विशिष्ट योगदान पुर्याउने पत्रकारहरूलाई सम्मान गर्न नाफिजसँग सम्झौता गरिएको बताइन्। 

फाउन्डेसनले यसअघि ज्येष्ठ नागरिकका लागि शैक्षिक कार्यक्रममार्फत सामान्य लेखपढ गर्न, हिसाब राख्न, मोबाइल फोन, इलेक्ट्रोनिक सामान र टेलिफोन प्रयोग गर्न तथा सडक संकेतबारे जानकारी लिन सक्ने बनाउने कक्षा सञ्चालन गरिसकेको अधिकारीले बताइन्। 

यसका साथै आफ्नो बुवाको सपना साकार पार्न फाउन्डेसनमार्फत गर्ने कामको अर्को अध्याय आर्थिक तथा सहकारी क्षेत्रमा कलम चलाउनुहुने पत्रकारलाई पुरस्कृत गर्न सघाउनु रहेको जिकिर अधिकारी गरिन्। उनले पुरस्कारको घोषणासँगै आर्थिक पत्रकारलाई आर्थिक घटनाक्रम तथा विषयवस्तुलाई सबल, निष्पक्ष, खोजमुलक, प्रभावकारी तथा तार्किक निचोड दिँदै आर्थिक समृद्धिमा टेवा पुर्याउन हौसला मिल्ने दाबी गरिन्। ‘पुरस्कारलाई साथ दिन पाउँदा सहकारी क्षेत्रमा बुबाले गर्न चाहेका तर अधुरै रहेका कामले सार्थकता पाउने विश्वास छ’, उनले भनिन्, ‘आर्थिक तथा सहकारी बिटमा पत्रकारिता गर्नुहुने साथीहरुले भरतमोहन अधिकारीको नाममा पुरस्कार प्रदान गर्ने मौका पाउँदै अत्यन्तै खुसी मिलेको छ।’

नाफिजका अध्यक्ष ढकालले पत्रकारितालाई प्रतिस्पर्धी बनाउन तथा खोजमूलक पत्रकारिता प्रवर्द्धन गर्न पुरस्कारले ठूलो भूमिका खेल्ने उल्लेख गरे। स्वर्गीय अधिकारीको सम्झना गर्दै उनले समाचारको गुणस्तर र पत्रकारहरुको प्रतिस्पर्धी क्षमता वृद्धि गर्न यस्ता पुरस्कारको  महत्व रहेको पनि बताए।